ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुआब्जा विवादले ४ वर्षदेखि पक्की पुल अलपत्र

२०७७ सावन, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको सल्ली चौरजहारी सडक खण्डमा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ । सल्यानको सल्लीबजारदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक खण्डमा जग्गा विवादको बहानामा ४ वर्षदेखि पुल निर्माणको काम अलपत्र बनेको हो । 

बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलामा निर्माणाधीन उक्त पुल २०७४ को पुसमै निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, निर्धारित समयको ३ वर्ष पछिसम्म अझै पनि पुल निर्माण सम्पन्न हुने अवस्थामा छैन । 

रू. ४ करोड १७ लाख लागतमा हरिहरि कन्ट्रक्सनले कामको ठेक्का पाएको थियोे । अहिलेसम्म पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, स्थानीय लक्ष्मी कामीको परिवारले मुआब्जा माग गरेर पुल निर्माण कार्यमा अवरोध गरेपछि समस्या भएको हो । उनीहरूले एउटा पिलरमा काम गर्न नदिएर अवरोध सिर्जना गरिरहेको निर्माण कम्पनीले बताएको छ । 

निर्माण कम्पनीको तर्फबाट २ वर्षअघि जग्गाधनीलाई रू. ८० हजार दिएको थियोे भने यसपटक १० आना जग्गाको सरकारी दररेट अनुसार क्षतिपूर्तिबापत थप रू. ४६ हजार दिने भने पनि उनीहरूले लिन नमानीरहेको निर्माण कम्पनीले बताएको छ । 

हालै पुलको विवाद सुल्झाउन र पीडित परिवारलाई क्षतिपूर्तिबापतको रकम बुझाउन नगरप्रमुख गोबिन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, वडाअध्यक्ष मोमत रोका, कमल विक, सडक डिभिजन दाङको टोली पुल निर्माणाधीन क्षेत्रमा गएको थियो । तर, पीडित परिवारले रकम बुझ्न नमानेपछि त्यसै फर्किएको बताइएको छ । स्थानीयको उक्साहटका कारण सो परिवारले क्षतिपूर्तिबापतको रकम नबुझेको नगरपालिकाको बुझाइ छ । 

पुलको निर्माण कार्य सम्पन्न नहुँदा वर्षायाममा गाडी आवतजावतमा समेत समस्या भइरहेको छ । एउटा परिवारका कारण हजारौं नागरिकले यहाँ सास्ती पाएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिए ।

‘समयमा नै पुल निर्माण कार्य सम्पन्न नहुँदा यहाँ हजारौं नागरिकले सास्ती पाउँदै आएका छन्’, उनले भने, ‘प्रहरी परिचालन गरेर पुलको काम अघि वढाउने तयारी समेत गरेका थियौं तर, जिल्ला प्रशासन कार्यालय सल्यानले अनुमति नै दिएन ।’ अहिले जसरी पनि पुल निर्माण कार्य सम्पन्न गर्ने भनेर जनस्तरबाट दबाब सृजना भइरहेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)