सुर्खेत । गाउँमै ‘श्रम रोजगार बैंक’ खुलेपछि कालीकोटको रास्कोट नगरपालिकाका युवाले स्थानीयस्तरमै आयआर्जन गर्न थालेका छन् । कामको खोजीमा वर्षेनि भारत जाने गरेका रास्कोट नगरपालिका–५ कालीकोटका मनवीर तिरुवाले श्रम रोजगार बैंक खुलेपछि वर्ष दिनदेखि गाउँमै रोजगारी पाएका छन् । नगरपालिकाले सञ्चालन गरेको श्रम रोजगार बैंकमा आबद्ध उनी अहिले आफूले गाउँमै मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताउँछन् ।
‘मुम्बईमा चौकीदारीको काम गर्दा परिवार पाल्नै मुश्किल हुन्थ्यो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन । गाउँमै त्यहाँको भन्दा राम्रो कमाइ हुने काम पाइएको छ ।’ ३ वर्ष खाडी मुलुकमा काम गरेर फर्केका कालीकोट फुकोटका कपुर महतरा पनि आफूले विदेशको भन्दा राम्रो कमाइ गाउँमै गरिरहेको बताउँछन् । ‘अहिले घरपरिवारसँगै बसेर खाडीको भन्दा बढी कमाइ गर्छु,’ उनले सुनाए ।
रास्कोट नगरपालिकाले गतवर्षदेखि सञ्चालन गरेको श्रम रोजगार बैंकले हालसम्म २६० जनालाई रोजगारी उपलब्ध गराएको बताइएको छ । नगरपालिकाले गाउँका युवालाई विकास निर्माण र उत्पादनका साथै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन जस्ता कार्यमा परिचालन गर्दै आएको छ । श्रम बैंकमा सामान्य लेखपढदेखि उच्च शिक्षा हासिल गरेका १८ देखि ४० वर्षसम्मका व्यक्तिले रोजगारी पाएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । हरेक युवाले मासिक २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाउँदै आएको श्रम रोजगार बैंकका अध्यक्ष पद्मबहादुर खड्काले बताए । २० जना सहभागी १३ ओटा समूह बनाएर युवायुवतीलाई विकास निर्माणमा परिचालन गरिएको जानकारी उनले दिए ।
श्रम बैंकमा काम गरिरहेकी सिपखानाकी हस्ता लोहार गाउँमै आम्दानी गर्ने अवसर पाउँदा निकै खुशी देखिन्छिन् । ‘तीनदेखि चार महीनामा ९० हजारसम्म कमाइ भइरहेको छ,’ उनले भनिन्, ‘श्रीमान् र आफ्नोमध्ये एकजनाको कमाइले घरखर्च धानेका छौं, एकजनाको बचत भएको छ ।’ श्रम बैंकमा निरक्षरदेखि उच्च शिक्षासम्म पढेलेखेका, घरका कुनै पनि सदस्य रोजगारीमा नभएका, द्वन्द्वपीडित, दलित परिवारका सदस्यलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । भवन निर्माण लगायत विभिन्न काममा उक्त बैंक मार्फत युवाको समूह परिचालन गराइएको उनको भनाइ छ । उनका अनुसार हालसम्म उक्त बैंक मार्फत १० करोड रुपैयाँ बराबरको विकासका काम गरिएको छ ।
श्रम बैंकमा १८ देखि ४५ वर्षसम्म उमेर समूहका बेरोजगार महिला एवं पुरुष सदस्य छन् । १२ कक्षा अध्ययन पूरा गरी सरकारी जागीरको तयारीमा जुटेकी झरना उपाध्याय अब आफूले त्यो सपना त्यागेको बताउँछिन् । ‘श्रम बैंक नखुलेको भए रोजगारीका लागि भौतारिनु पथ्र्यो होला,’ उनले भनिन्, ‘अब ढुक्क भएर यहीँको काममा आफूलाई केन्द्रित गरेकी छु ।’ बैंकमा आबद्ध प्रत्येक सदस्यको १० लाख रुपैयाँको दुर्घटना बीमा पनि गरिएको छ । उनीहरूले आफ्नो कमाइको १० प्रतिशत रकम बचत गर्छन् भने त्यसमा नगरपालिकाले १० प्रतिशत रकम थपेर सञ्चय गरिदिन्छ । बैंकको सदस्य ५० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएकाले बचत रकम त्यति बेला मात्र निकाल्न पाउने नियम छ ।
पहुँचवालाकै हालिमुहाली रहेको आरोप
श्रम बैंकले गाउँमै रोजगारी सृजना गरे पनि पहुचवालाकै हालिमुहाली रहेको गुनासो समेत आउने थालेको छ । बैंकले भारतमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था कम गरे पनि जनप्रतिनिधिकै आफ्न्तले बढी रोजगारी पाएको स्थानीय बासिन्दाको आरोप छ । कतिपय रास्कोटवासीले श्रम रोजगार बैंकको अवधारणा राम्रो भए पनि यसले सबैलाई समेट्न नसकेको र जनप्रतिनिधि निकटका केही निश्चित व्यक्तिले मात्र रोजगारी पाएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटका सदस्य रहेका रास्कोट–५ का आनन्द शाहीले भने, ‘द्वन्द्वपीडित, विपन्नको नाममा २६० जनाले मात्र काम पाएका छन् । नगरपालिकाका २८ सय घरधुरीका प्रत्येक एक जनालाई काम दिन सक्नुपर्छ ।’ श्रम बैंकका नाममा जनप्रतिनिधिले आफ्ना दलका कार्यकर्तालाई मात्र रोजगारी दिएको भन्दै उनले विकास निर्माणका काम टेन्डरबाट नगरिएको हुनाले रकम दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरे ।
यता, नगरप्रमुख बरालले भने बैंक मार्फत स–साना स्तरका विकासे कार्यक्रम सञ्चालन गरिने भएकाले नगर स्वयंले आवश्यकता अनुसारका आयोजना छनोट गरी श्रम प्रदान गरेको बताए । श्रम बैंकमार्फत उपभोक्ता समितिबाट काम गर्ने चलनको अन्त्य भएकाले विकासको रकम दुरुपयोग हुनबाट जोगिनुका साथै स्थानीयलाई आफ्नै गाउँमा आयआर्जन गर्ने अवसर मिलेकोे दाबी उनले गरे । उनका अनुसार नगरपालिकाभित्र प्रत्येक घरलाई समेट्ने गरी कार्यक्रम विस्तार गर्न लागिएको छ ।