साउन १०, जाजरकोट । जाजरकोट जिल्लाको बारेकोटका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । बारेकोटमा गत असार २५ गते आएको बाढीपहिरोमा परी विस्थापित भएका ६५० घर परिवारलाई शनिवार गैर खाद्य सामग्री वितरण गरिएको हो ।
नेपाल रेडक्रस लगायतका सहयोगी संघ संस्थाले संकलन गरेको राहत सामग्रीलाई स्थानीय तह मार्फत वितरण गरिएको छ । ३७५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटले उपलब्ध गराएको ३७५ थान त्रिपाल, ३५० थान कम्बल बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरिएको छ ।
रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले भौगोलिक विकटतासँगै सामग्री ढुवानी गर्न समस्या भएकाले राहत वितरणमा ढिलाइ भएको बताए । ‘जहाँ दुःख पर्छ त्यहाँ सबैभन्दा पहिले रेडक्रस पुग्छ । फेरी पनि यस पटक भौगोलिक विकटतासँगै प्रतिकुल मौसमका कारण राहत वितरणमा ढिलाइ भयो,’ उनले भने, ‘हामीले आफ्नो शक्ति र सामाथ्यको अधिकतम उपयोग गर्दै पैदल मार्गबाटै राहत सामग्री पुर्याएका छौं ।
राहत सामग्री अपुग भए तत्कालै थप व्यवस्थापन गर्ने योजना बनाउका छौं ।’ पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानको समन्वयमा ३४५ सेट गैर खाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट लगायतका सरसफाइका सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बारेकोटमा बेला–बेला आउने विपद्को सामना गर्दे प्रभावितलाई ढिलै भएपनि सबैलाई राहत वितरण गरिएको बताए । ‘अहिले पनि विभिन्न माध्यमबाट राहत संकलन कार्य जारी रहेको छ,’ उनले भने, ‘विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिने छ ।
शाहले दुःखको बेलामा सहयोग गर्ने सबै संघ संस्थालाई धन्यबाद व्यक्त गरे । उनका अनुसार पहिरो पीडितका लागि यूनीसेफ नेपालले गैर खाद्य सामग्री उपलब्ध गराई सकेको छ । त्यस्तै विश्व खाद्य कार्यक्रमले २ महीना पुग्ने गरी ७५० घरपरिवारलाई चामल, दाल र तेलको व्यवस्था गर्न लागिएको अध्यक्ष शाहले जानकारी दिए ।
उनका अनुसार पहिरोको कारण कुल ३३४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ५५ घर पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । जाजरकोटमा हालसम्म १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन् । सयौं हेक्टर जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट भएको छ ।
एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् । बारेकोटमा बाढीपहिरोबाट ९ करोड भन्दा बढीको क्षति भएको गाउँपालिकाले बताएको छ । पहिरोले ११ जनाको ज्यान जानुका साथै ३ जना अझै वेपत्ता छन् ।