ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोटरसाइकल र स्कुटीको विक्री बढ्यो

२०७७ सावन, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । धरानमा दुईपांग्रे सवारीसाधनको विक्री बढेको व्यवसायीहरुले बताएका छन् । क्रमशः लकडाउन खुला भएर जिल्लामा चहलपहल बढ्न थालेसँगै मोटरसाइकल तथा स्कुटीको विक्री बढेको हो । कोरोना प्रभावितलाई लक्षित गर्दै जिल्लाका अटो विक्रेताहरूले विभिन्न अफर ल्याएका कारण पनि विक्री बढेको उपभोक्ताहरू बताउँछन् ।

लकडाउनका कारण साढे ३ महीना ठप्प भएको व्यवसायलाई लयमा फर्काउन विक्रेताहरूले विभिन्न अफरहरू ल्याएका छन् । यसअघि दसैंको समयमा पाइने भन्दा विशेष खालका अफर पाएपछि सर्वसाधारणले पनि धमाधम स्कुटी र मोटरसाइकल किनिरहेको विक्रेताहरूको भनाइ छ । कोरोना संक्रमणको त्रास अन्त्य नभएकाले संक्रमणबाट जोगिन पनि कतिपय सर्वसाधारणले सार्वजनिक सवारीको विकल्पमा दुईपांग्रे सवारीसाधान खरीद गर्न थालेको व्यापारीहरूको भनाइ छ ।

धरानस्थित अर्विन एन्ड बजाज शोरुमका सञ्चालक अर्विन तामाङले लकडाउन ‘लुजडाउन’ भएपछि  विभिन्न क्षमता ३५ ओटा मोटरसाइकल विक्री भएको बताए । उनले यो समयमा १५० सिसीको पल्सर मोटरसाइकल बढी विक्री भएको जानकारी दिए । ‘अन्य महीनाको तुलनामा यो महीना धेरै विक्री भयो’, उनले भने, ‘यो समय भनेको धेरैले किस्ता तिर्न समस्या हुने तथा महीनाको क्लोजिङ समय हो । यद्यपि, मोटरसाइकलको विक्री घटेन ।’

धरानस्थित नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले लकडाउन खुकुलो भएपछि टीभीएसका स्कुटी र मोटरसाइकल गरेर १३ ओटा विक्री गरेको बताए । उनले भने, ‘यो केही कमचाहिँ हो तर पनि कोरोना कहरका कारण मानिससँग पैसा नहुँदा पनि विक्रीको यो संख्या राम्रो हो ।’

यस्तै यामाहा शोरुमका प्रभाव खतिवडाले यामाहा ब्रान्डका ७० ओटा मोटरसाइकल र स्कुटी विक्री गरेको बताए । ‘कोरोना महामारी, सामाजिक दूरीलगायत नियम बनेको कारण दुई पांग्रेमा सर्वसाधारणको आकर्षण बढेको धारणा उनको पनि छ । कार्यालयहरूका काम गर्नै पर्ने बाध्यता र सुरक्षित हुनुपर्ने अवस्थाकाबीच दुईपांग्रेको थप विक्री बढ्ने अनुमान उनले गरेका छन् ।

व्यवसायीले पनि लकडाउन खुकुलो भएसँगै विभिन्न स्किम, उपहार योजना र फाइनान्सको सुविधाका योजना ल्याएर उपभोक्तालाई उत्साहित बनाइरहेका छन् । मोटरसाइकल कम्पनीहरू बजाज, टीभीएस, यामाहा, सुजुकी, होन्डा, हिरोलगायतले छूटको आकर्षक योजनाहरू सार्वजनिक गरेका छन् ।

‘स्कुटी र सस्तो सेगमेन्टका मोटरसाइकलको माग बढी छ’, यामाहा शोरुमका प्रभाव खतिवडाले भने, ‘अधिकांशको चासो फाइनान्समा रहेको पाएका छौं । यसले केही समस्या ल्याउन सक्छ । यद्यपि, बजार चलायमान हुने अपेक्षा भने अवश्य गरेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)