ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा कोरोना संक्रमण समुदायस्तरमा पुग्यो

२०७७ सावन, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । लकडाउन खुलेसँगै विराटनगरमा कोरोनाको संक्रमण समुदायस्तरमा पुगेको छ । यसअघि भारत र अन्य मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा मात्र संक्रमण देखिए पनि पछिल्लो ४ दिनमा कोरोना समुदायस्तरमा देखिन थालेको हो । विराटनगरमा बुधवार ३, बिहीवार ४, शुक्रवार १ र शनिवार ३ जनामा कोरोना पुष्टि भएसँगै समुदायमा कोरोनाको संक्रमण फैलिएको पाइएको हो ।

शुक्रवार वर्षे अधिवेशनको अन्तिम दिन प्रदेशसभालाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पुगेको जानकारी दिएका हुन् । उनले भने, ‘आजको मितिसम्म आइपुग्दा यो संक्रमण समुदायस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’

बुधवार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखियो । सोही दिन विराटनगर अस्पतालका सञ्चालक चिकित्सकलाई पनि संक्रमण पुष्टि भयो । बिहीवार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरी जवानलाई संक्रमण पुष्टि भएपछि आइसोलेशनमा छन् । शुक्रवार विराटनगर–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ३ दिनमा संक्रमण पुष्टि भएका व्यक्तिहरू आइसोलेशनमा छन् । तर संक्रमित व्यक्तिमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिलाई संक्रमण देखिएपछि विराटनगरमा समुदायस्तरमा कोरोना फैलिएको स्थानीय प्रशासनले समेत निष्कर्ष निकालेको छ ।

‘समुदायस्तरमा कोरोना संक्रमण पुगिसकेको छ,’ विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘अब उच्च सतर्कता अपनाउनुको विकल्प छैन ।’ विराटनगर महानगरपालिकाले शनिवारसम्म १ हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको छ । शनिवार पुष्टि भएकामध्ये दुईजना विराटनगर–६ मा बुधवार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् । संक्रमितमध्ये पछिल्लो सातजनाको ट्राभल हिस्ट्री देखिएको छैन । बाहिर नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

बजार क्षेत्रमा छैन सतर्कता
कोरोना संक्रमण समुदायस्तरमा पुगे पनि बजार क्षेत्रमा भने सतर्कता अपनाइएको छैन । विराटनगरका बजार, पसल र अस्पतालहरूमा समेत सतर्कता अपनाइएको पाइएको छैन । संक्रमणको जोखिम उच्च रहने बैंकका एटीएम बुथ तथा किराना पसहरूमा सतर्कता नअपनाउँदा महामारी फैलने जोखिम बढेको छ । समुदायस्तरमा कोरोना संक्रमण पुगेका कारण सर्वसाधारणले सतर्कता अपनाउन आवश्यक रहेको जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा बताउँछन् ।

‘पछिल्लो घटनाक्रमले कोरोना समुदायस्तरमा पुगेको देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा झन् सावधानी अपनाउनु पर्छ ।’ विराटनगरमा थप सुरक्षा सतर्कताका लागि छलफल भइरहेको जनस्वास्थ्य माहाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘हामी अब कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौं,’ उनले भने ‘सम्भवतः केही दिनभित्र निर्णय हुन सक्छ ।’

प्रदेश प्रहरी कार्यालय र विराटनगर अस्पतालका चिकित्सकमा कोरोना देखिएपछि त्यहाँबाट यो समुदायस्तरमा पुगेको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन् । विज्ञहरूले नगरभित्रका सम्पूर्ण टोलबाट नमूना ल्याएर पीसीआर परिक्षण गर्नुपर्ने सुझाएका छन् । परीक्षणपछि मात्र कोरोनाको संक्रमणको अवस्था कस्तो छ भन्ने यकिन हुने र त्यसपछि आगामी रणनीति तयार गरी नियन्त्रणको थालनी गरिनुपर्ने उनीहरूले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)