ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा धानखेती खुम्चँदै चामल आयात बढ्दै

२०७७ सावन, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । मुख्य अन्नबाली धानको भण्डारको रूपमा चिनिने प्रदेश १ मा पछिल्लो डेढ दशकमा धानखेती खुम्चँदै गएको छ । धानखेती खुम्चँदै जाँदा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढीको चामल भारतबाट भित्रने गरेको छ । प्रदेश १ मुख्य दुई नाका काकडभिट्टा र विराटनगरबाट गत आर्थिक वर्ष २०७६/७७ मा रू. १ अर्ब ६० करोड ९५ लाख बराबरको ३५ हजार ४४० मेट्रिक टन चामल भित्रिएको छ, जसबाट १७ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा मेची र विराटनगर भन्सारबाट १ अर्ब ९५ करोड रुपैयाँ बराबरको ४८ हजार ३८६ मेट्रिक टन चामल भित्रिएको छ । यसबाट १५ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/२०७५ मा दुवै भन्सारबाट रू. २ अर्ब ३५ करोड बराबरको ५९ हजार २० मेट्रिक टन चामल भित्रिएको छ । उक्त परिमाणको चामलबाट भन्सार कार्यालयले १८ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विराटनगर भन्सार कार्यालयकी प्रवक्ता सुनीता पौडेलका अनुसार प्रत्येक वर्ष चामलको आयात घटे पनि धानको आयात भने उस्तै छ । उक्त नाकाबाट धानबाहेक मकैै, कोदो र फापर पनि भित्रिएको छ । प्रदेश १ को कुल गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत योगदान धानको छ ।

पछिल्लो समय खेतीयोग्य जमीनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ गरेर छाड्ने र आवास निर्माणले धानखती हुने जमीनको क्षेत्रफल खुम्चिँदै गएको हो । जमीन घट्दै गएपछि धानको उत्पादनमा प्रत्येक वर्ष कमी आउन थालेको छ । धानखेती हुँदै आएको जमीन मासिँदै जाँदा त्यस क्षेत्रमा धानखेती पनि घट्दै गएको हो ।

प्रत्येक वर्ष धान खेत मासिँदै गएपछि त्यसले उत्पादनमा समेत असर देखिएको छ । सन् २००३ मा प्रदेश १ का १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धानखेती हँुदै आएको थियो । अहिले वार्षिक ३ लाख १२ हजार हेक्टरमा खुम्चिएको छ, अर्थात् १५ वर्षमा धानखेती हुने ५४ हजार हेक्टर क्षेत्रफल घटेको छ ।

बितेको १५ वर्षयता धानको उत्पादनमा कमी आएर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको छ । १५ वर्ष अघिसम्म १६ लाख ४७ हजार मेट्रिक टन उत्पादन हुँदै आएको थियो । यद्यपि यो प्रदेशमा अहिले पनि वार्षिक ४ लाख ८६ हजार मेट्रिक टन अन्न बचत हुने गरेको छ, जुन अन्य प्रदेशमा विक्री हुँदै आएको छ ।

प्रदेश १ मा बर्खे धान ३ लाख ७६ हजार ९५२ हेक्टर तथा चैते धान २ लाख ८० हजार ५९३  हेक्टरमा लगाउने गरिएको छ । बर्खे र चैते गरी प्रदेशमा ११ लाख ९८ हजार ७४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर अधिकांश प्रदेशवासीले भारतबाट आयातित चामल उपभोग गर्ने गरेका छन्, जसकारण चामल खरीदका लागि वर्षेनि धान करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

प्रदेश १ का १४ जिल्लामा धानखेती हुने गरेको छ । तर अहिले पनि कुल धानको उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर वार्षिक ३ हजार मेट्रिक टन धान अन्यत्र निर्यात गर्दै आएको छ । प्रदेश एकको कुल गार्हस्थ्य उत्पादनकमा समग्र कृषिक्षेत्रको योगदान ३६ प्रतिशत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)