ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ३ लाख मूल्य बराबरको सखुवाको काठ बरामद

२०७७ सावन, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाबाट प्रहरीले रू. ३ लाख मूल्य बराबरको सखुवाको काठ बरामद गरेको छ । महालक्ष्मी नगरपालिका–४ स्थित सिन्धुबसेरी सामुदायिक वनको २ वर्षअघि काटिएको काठ बरामद गरिएको हो ।

सामुदायिक वनका पदाधिकारी र उपभोक्ताको मिलेमतोमा काटेको आशंकासहित प्रहरीमा उजुरी परेपछि उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । सिन्धुबसेरी सामुदायिक वनको ४५ क्यूफिट सखुवाको ४ बाइ ३ को बटम बिनापूर्जी प्रक्रिया नपुर्‍याई काटिएको भन्ने उजुरीको आधारमा प्रहरीले बरामद गरी सव–डिभिजन वन कार्यालय जितपुरलाई जिम्मा लगाइएको छ ।

जितपुर प्र्रहरी चौकीका इञ्चार्ज मदन भण्डारी र चानुवा प्रहरी चौकीका इञ्चार्ज श्याम कार्कीको कमान्डमा गएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुबकुमार श्रेष्ठले बताए । बरामद गरिएको सखुवाको बजारमूल्य हाल प्रति क्यूफिट रू. ८ हजार छ । उक्त दरका आधारमा बरामद काठ रू. ३ लाख भन्दा बढी मूल्यको छ ।

सिन्धुबसेरी सामुदायिक वन उपभोक्ता समितिका सदस्य फडिन्द्र बुढाथोकीका छोरा सरोज बुढाथोकीले बा ५ त ६६८९ नम्बरको ट्याक्टरमा लोड गरेर बैकुण्ठेबाट कहरे लैजान लाग्दा प्रहरीले बरामद गरेको हो ।

डिभिजन वन कार्यालय धनकुटाका सूचना अधिकारी बद्री पौडेलले बरामद भएको सखुवाको काठको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । २ वर्षअघि काटिएको सखुवाको काठ के कसरी सामुदायिक वनले काटेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

अनुसन्धानको क्रममा प्रक्रिया नपुर्‍याई गैरकानूनी र अवैध ढंगले काठ कटान भएको ठहरिए सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता समितिका सदस्यहरू उपर कारबाही हुने पौडेलले बताए । उनले काठ बरामदको विषयमा सव–डिभिजन वन कार्यालय जितपुरका प्रमुख जगदिश रेग्मीले अनुसन्धान गरिरहेको बताए ।

यस्तै महालक्ष्मी नगरपालिका–४ स्थित सिन्धुबसेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तोर्णबहादुर बुढाथोकीले आफ्नो कार्यकालमा सखुवा नकाटेको बताएका छन् । उनले आफू अध्यक्ष हुनुअघि नै तत्कालिन अध्यक्ष दिपक बुढाथोकीको पालामा बैकुण्ठेका फडिन्द्र बुढाथोकीले सामुदायिक वनबाट प्रक्रिया पु¥याएरै सखुवा कोटेको प्रमाण फेला परेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)