धनकुटा । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसबाट प्रभावित किसानलाई रू. १ करोड ५३ लाख ७१ हजार राहत वितरण गरेको छ । यहाँका ८४ ओटा कृषि फार्म तथा समूहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो ।
मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटामार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शीर्षकमा सञ्चालित ३० ओटा कृषि फार्म तथा समूहमा आवद्ध किसानहरूलाई राहत रकम दिएको हो । यस्तै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत कुखुरापालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुरपालन गरी ६८ ओटा कृषि फार्म तथा समूहमा आवद्ध किसानहरूलाई राहत रकम दिइएको मन्त्रालयले बताएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटामार्फत रू. ६१ लाख ५४ हजार ९३१ तथा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटामार्फत रू. ९२ लाख १६ हजार ५१३ राहत वितरण गरेको हो ।
सोमवार मन्त्रालयले जिल्ला समन्वय समिति धनकुटाको समन्वयमा एक कार्यक्रम गरी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले किसानलाई सो राहत रकम वितरण गरे । राहत रकम वितरण गर्दै राज्यमन्त्री मगरले प्रदेश सरकारले कोरोना प्रभावित किसानलाई सानो सहयोग गरेको बताए ।
उनले कोरोनाको कारण प्रभावित कृषि क्षेत्रमा आवद्ध किसानलाई प्रदेश सरकारले रू. ४५ करोड बराबरको राहत वितरण गर्ने तयारी गरेको भए पनि किसानले उत्साहजनक निवेदन नदिएको बताए । फार्म, दुग्ध र सहकारीलाई प्राथमिकतामा राखेर सहयोग गरेको भन्दै राज्यमन्त्री मगरले राहत वितरण कार्यमा धनकुटामा सन्तोषजनक निर्णय भएको बताए ।
उनका अनुसार सबैभन्दा बढी झापा र दोस्रोमा धनकुटाका किसानले राहत पाएका छन् । कुखुरा नोक्सान हुने किसानलाई चल्लाको दाम, दूधमा प्रतिलिटर रू. १० को दरले राहत वितरण गरेको मन्त्री मगरको भनाइ छ ।
राहत पाएपछि धनकुटा नगरपालिका–३ का दुग्ध उत्पादक किसान पुण्यप्रसाद खतिवडाले व्यक्तिगत रूपमा नभई सहकारीमार्फत खेती गर्दा सुरक्षित भइने बताए । किसानका दिन अहिलेसम्म नआएको बताउँदै दीगो कृषि विकासमा लागेका किसानलाई यतिले मात्रै नपुग्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेशसभा न्याय प्रशासन तथा विधायन सभा सभापति इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य लिला सुब्बा, निरन राईले प्रदेश सरकारले प्रदेशका व्यावसायिक किसानलाई ठूलो सम्मान गरेको बताए । उनीहरूले आवेदन गर्ने अधिकांश किसानले सुविधा पाएको बताउँदै किसानको घाउमा केही मलमपट्टी लाग्ने विश्वास व्यक्त गरे ।