ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर विमानस्थलभित्र केराखेतीको कारण जोखिम

२०७७ सावन, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर विमानस्थलको तारजालीभित्रको जमीन निषेधित क्षेत्र हो । त्यहाँ विमानस्थलका सुरक्षाकर्मी र अनुमतिप्राप्त कर्मचारीलाई मात्र प्रवेश हुन्छ । तर त्यही निषेधित क्षेत्रभित्र जोखिमपूर्ण तरिकाले केराखेती हुँदै आएको छ ।

विमानस्थलको तारजालीभित्र धावनमार्गको छेउमै भइरहेको केराखेतीले चराचुरुंगी र जनावरलाई आकर्षित गर्छ । विमानस्थलमा चराचुरुंगीको आवतजावतलाई खतराको रूपमा लिइन्छ । तर विराटनगर विमानस्थलले सानो आम्दानीको लोभमा लागि ठूलो जोखिम उठाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरका सेकुवा पसलहरूले फाल्ने हड्डीका टुक्रा र अन्य खानेकुराले विमानस्थलभित्र कुकुर र चरा आकर्षित हुँदा जोखिम बढेको भन्दै यसअघि विमानस्थलले त्यस्ता पसल बन्द गरिनुपर्ने सूचना नै निकालेको थियो । तर विराटनगर विमानस्थलले भने निषेधित क्षेत्रमै केराखेती गर्ने अनुमति दिएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सूयर्माराज राईले नागरिक उड्डयन प्राधिकरणले सामान्य आम्दानीका लागि दुर्घटना निम्त्याउने काम गरेको भन्दै प्रदेशसभामा सभामुखको ध्यानाकर्षण गराएका छन् । गत शुक्रवार वर्षे अधिवेशनको अन्तिम बैठकमा विशेष समय लिएर उनले विमानस्थल क्षेत्रभित्रको केराखेती हटाउन माग गरेका हुन् ।

‘नागरिकको ज्यान जोखिममा राखेर आम्दानी गर्न मिल्दैन,’ उनले भने, ‘तत्काल केराखेती नष्ट गरिनु पर्छ ।’ विमानस्थलभित्र धावन मार्गको २०० मिटरभन्दा पनि कम दूरीमा खेती गरिनु सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुन सक्ने विज्ञहरूले पनि औंल्याएका छन् ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का लगाइए पनि विमानस्थलभित्रको उक्त जमीन कौडीको भाउमा भाडामा लगाइएको छ । जहाज अवतरण, उडान गर्दा र हेंगरमा राख्दा विमान कम्पनीहरूले प्राधिकरणलाई भाडास्वरूप वार्षिक करोडौं तिर्दै आएका छन् । प्राधिकरणले विराटनगर विमानस्थलभित्र चमेना गृह र अन्य पसल भाडामा लगाउँदै आएको छ ।

विराटनगर विमानस्थलको क्षेत्रफल ११८ बिगाहा छ । यसमध्ये धावनमार्गसँगै रहेको दक्षिण–पश्चिम क्षेत्रको १४ बिगाहा कृषि प्रयोजनका लागि ठेक्का लगाइएको नागरिक उड्डयन प्राधिरकण, विराटनगर कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए । ‘खाली रहेको जग्गा व्यर्थमा बाँझो रहनुभन्दा राज्यलाई राजस्व संकलनमा सहयोग होस् भनेर ठेक्कामा दिइएको हो,’ उनले भने । विमान उडान–अवतरणमा कुनै पनि समस्या उत्पन्न हुन नदिनेगरी मापदण्ड पालना गरेर उपभोग गर्नेगरी सम्झौता गरिएको दाबी उनले गरे ।

विमानस्थलको जग्गा राधाश्री इन्टरनेशनल कम्पनीलाई ३ वर्षका लागि ठेक्का दिइएको हो । विमानस्थलले १४ बिगाहा जग्गाको वार्षिक भाडा ५ लाख ५५ हजार रुपैयाँ तोकेको छ,  जब कि त्यति नै जमीन स्थानीयसँग लिँदा वार्षिक भाडा ४ लाख २० हजार रुपैयाँ पर्छ । आर्थिक वर्ष २०७५/७६ देखि शुरू भएको ठेक्का अवधि २०७७/७८ सम्म छ ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभागका निर्देशक बाबुराम पौडेलले आफूले केराखेती हुँदै आएको जानकारी पाए पनि विमानस्थलभित्र सुरक्षासम्बन्धी अध्ययन प्रतिवेदनमा के छ भन्ने हेर्नुपर्ने बताए । आफू भर्खरै आएकाले विमानस्थलको अडिट रिपोर्ट अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ ।

विमानस्थलले खाली जमीन कृषि प्रयोजनका लागि ठेक्का दिएको यो नै पहिलोपटक भने होइन । यसअघि पनि कृषि प्रयोजनकै लागि व्यक्तिलाई ठेक्कामा दिइएको कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले बताए । ‘पहिलो ठेक्का व्यक्तिले लिनुभएको थियो, तर सम्झौता अवधिभर जग्गा उपभोग गर्नुभएन,’ उनले भने, ‘दोस्रो ठेक्का राधाश्रीले पाएपछि केराखेती गरिरहेको छ ।’

विमानस्थलभित्र केराखेती लगाइएको र त्यसले जोखिम बढाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका केन्द्रीय प्रवक्ता राजकुमार क्षेत्रीले विमानस्थल नियमावली अनुसार नै खेतीका लागि ठेक्कामा दिइएको बताए । तर सुरक्षा खतरा हुनेबित्तिकै केराखेती हटाइने उनको भनाइ छ ।  

१ बिगाको मासिक भाडा रू. १ हजार १००
विमानस्थलले १४ बिगाहा जमीन राधाश्री इन्टरनेशनललाई कौडीको भाउमा भाडामा दिएको छ । ३ वर्षका लागि राधाश्रीका सञ्चालक अशोक बिहानीले उक्त जग्गा ठेक्कामा लिएका हुन् । तर उनले खेती नगरी अन्यलाई दिएका छन् । ३ वर्षका लागि १४ बिगाहा जमीन ५ लाख ५५ हजार भाडामा लगाइएको हो, जसको वार्षिक भाडा १ लाख ८५ हजार पर्न आउँछ । प्रतिबिगाहा जग्गा मासिक १ हजार १ सय ११ रुपैयाँ भाडामा विमानस्थलले केराखेतीका लागि दिएको छ, जब कि स्थानीयले मासिक १६ हजारमा भाडामा लगाएका छन् । प्रतिबिगाहा मासिक १ हजार १ सय ११ रुपैयाँमा भाडाको जमीनबाट ठेकेदारले भने मासिक २५ हजार आम्दानी लिइरहेको छ । ठेकेदारमध्येका टंक खतिवडाले आपूmहरूले कानूनी सबै प्रक्रिया पूरा गरेर भाडामा लिएर केराखेती गरिरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)