रुकुम । रुकुम पश्चिमका ५४ ओटा वडा बाढीपहिरोको उच्च जोखिममा परेका छन् । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका ७३ ओटा वडामध्ये ५४ ओटा वडा बाढीपहिरोको उच्च जोखिममा परेका हुन् ।
सानीभेरीमा ११, त्रिवेणीमा १०, आठबीसकोटका १२, चौरजहारीमा ८, मुसीकोटका ८ र बाँफिकोटमा ५ ओटा वडा जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
मुसीकोट नगरपालिकाका चौखाबाङ, स्यालापाखा, बोहरागाउँ, चौरजहारीको खहरेपिपल, कालीखोला, लहरेसिमल, लिउरेबारी तथा आठबीसकोटको खारखारा, झिन्चौर, गैरीचोक, घोरला, धारापानीलगायत गाउँ पहिरोको उच्च जोखिममा रहेको पौड्यालले बताए ।
उनका अनुसार बाँफिकोटको दुली, झुला, छिन्खेत, पुमाखोला, सानीभेरीको पूर्तिमकाँडा, बैरेनीतरा, तुस्रेबगर तथा त्रिवेणी गाउँपालिकाका बल्लेजुरा, खाल्टिखोला, बाँदरपानी र सिम्र्रतु बजारलाई जोखिमको सूचीमा राखिएको छ ।
यी क्षेत्रमा कुनै पनि बेला विपद्का घटना हुन सक्ने भन्दै सबैतिर पूर्वतयारी थालिएको छ । आवश्यक स्रोतसाधनको विवरण संकलन गर्ने र सम्भावित क्षेत्रमा पठाउने काम थालिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।
घर बगाउँदा २ जनाको मृत्यु
पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको हो । सोमवार रातीको वर्षाका कारण पहिरो खस्दा स्थानीय जसबीर कामीको घर बगाएको थियो ।
पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार नवीन र बलबहादुरको शव भेटिएको र अरु ४ जनाको उद्धार गरिएको छ । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया ब्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको प्रहरीले बताएको छ ।
घाइते झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मंगलवार बिहान ४ बजेतिर घरदेखि १० मिटर माथिबाट खसेको पहिरोले उक्त घर करीब डेढ सय मिटर तल रहेको किमाना खोलामा पु¥याएको थियो । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका हुन् ।
यसअघि गत असार २६ गते आठबीसकोट नगरपालिका–३, खदीमा गएको पहिरोले आमा–छोराको ज्यान गएको थियो ।