धनकुटा । निरन्तरको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । जिल्लाका विभिन्न गाउँ, अधिकांश सडक तथा भौतिक संरचनाहरू पहिरोका कारण जोखिममा परेका छन् ।
वर्षाका कारण जिल्ला खेलकुद विकास समिति धनकुटाको भवन भासिएको छ । भवनको चारै क्षेत्रमा पहिरो गएका कारण भवन भासिएको हो । भवन नजिकै रहेको फूटबलको स्तम्भ पनि जोखिममा परेकाले डोजर लगाएर तानिएको छ ।
यस्तै पहिरोले धनकुटाको तल्लो टुँडिखेल पनि क्षतविक्षत बनाएको छ । भवन जोखिममा परेकोबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको खेलकुद विकास समितिका कार्यालय प्रमुख नवीन प्रधानले बताए । पहिरोका कारण धनकुटाको एकमात्र टुँडिखेलको तार बेरा ठाउँठाउँमा भत्किएको छ ।
यस्तै अविरल वर्षाका कारण विभिन्न सडकहरूमा ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेका छन् भने केहीको मर्मतपछि सुचारु गरिएको छ । कोशी राजमार्ग अन्तर्गत भेडेटार हिले खण्डको १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको थियो । सो खण्डको पात्लेखोला, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायत दर्जनौं स्थानमा पहिरो खसेको थियो ।
उक्त सडक स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा खुलाइएको सशस्त्र प्रहरीका डीएसपी सचिन कर्माचार्यले बताए । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौं सवारीसाधन जाममा परेका थिए ।
वर्षाको कारण धनकुटाका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध बनेका छन् । ठाउँ–ठाउँमा पहिरोले पुरिएपछि सडक अवरुद्ध बनेका हुन् । अधिकांश ठाउँमा पहिरो गएको खबर आएको भए पनि क्षतिको पूर्ण विवरण आइनसकेकाले कहाँ कुन सडक अवरुद्ध र कति मानिस अलपत्र भए भन्न नसकिएको धनकुटा प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारले बताए ।
विद्युत् आपूर्ति पनि टुट्यो
पहिरोले विद्युत् लाइनको पोल लडाएपछि धनकुटा सदरमुकाम बाहेक अधिकांश ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । ठाउँठाउँमा पहिरो खसेर ३३ केभी प्रशारण लाइनको पोल ढलेपछि मंगलवार बिहानैदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।
पहिरोले पोलसँगै विद्युत् लाइनको तारसमेत चुँडाएको नेपाल विद्युत् प्राधिकरण धनकुटाका कर्मचारी हेमचन्द्र थापाले बताए । ‘प्राविधिकहरूको टोलीले ढलेका पोल उठाउने काम भइरहेको छ’, उनले भने, ‘अविरल वर्षाका कारण काम गर्न केही असहज बनेको छ ।’