साउन १७, सल्यान । नेपालमा बेसारको नयाँ जात विस्तार गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यानको कपुरकोटले दुई वर्ष लामो अनुसन्धानपछि बेसारको दुई ओटा नयाँ जात पत्ता लगाएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यान कपुरकोटले ‘कपुरकोट हलेदो– १’ र ‘कपुरकोट हलेदो– २’ सहित दुई ओटा बेसारको नयाँजात सिफारिस गरेको हो । ‘कपुरकोट हलेदो– १’ नेपालका मध्य पहाड क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा समिद अहमदले जानकारी दिए ।
नेपालको तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुन्द्री सतहदेखि १ हजार ६०० मिटर उचाईको भुभागसम्म उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘अहिले हामीले नयाँजातको करीब २ हजार ३०० केजी नयाँ बिऊ उत्पादना गरेर नेपालका विभिन्न जिल्लाहरुमा पुर्याएका छौं’, उनले भने ।
कपुरकोट हलेदो–१ को उत्पादन क्षमता २७ दशमलव ८३ मेट्रिक टन प्रतिहेक्टर छ भने बेसार बन्ने क्षमता १३ दशमलव ८ प्रतिशत छ । उनका उक्त जातको बेसारमा वास्नादार तेलको मात्रा ७ दशमलव ५ प्रतिशत छ ।बेसारको नयाँ जातलाई धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेका कृषि ज्ञान केन्द्रलाई उपलव्ध गराएको अदुवाबाली अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले बताए ।
‘आगामी आर्थिक वर्षमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने लक्ष्य रहेको छ’, उनले भने, ‘यो नयाँ जातीको वेसार उत्पादन राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता बढी भएकाले पनि कृषकहरुलाई सिफारिस गरिएको हो ।’
अदुवाबाली अनुसन्धान कार्यक्रमका अनुसार नेपालको करीव ७ हजार ३०० हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ । जसमा एक वर्षमा ७१ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।
जिल्लाका तीन स्थानमा बेसार पकेट क्षेत्र बिस्तार
सल्यानमा तीन ओटा क्षेत्रलाई बेसार पकेट क्षेत्रको रुपमा बिस्तार गरिएको छ । यहाँका किसानहरुले सामुहिक वेसार खेतिसमेत शुरु गरिएको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।
जिल्लाका शारदा नगरपालिकाको माल्नेटा, कालीमाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार उत्पादन पकेट क्षेत्रको रुपमा घोषणा गरी बेसार उत्पादन शुरु गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार वस्नेतले जानकारी दिए ।
जिल्लामा ३५० हेक्टरभन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाभर ३ हजार १४ मेट्रिक टन बेसार उत्पादन भएको छ भने यो वर्ष पनि समयमै वर्षात भएकोले बेसार उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान छ ।