ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनबाट आर्थिक क्षति बेहोरेका किसानलाई रू. ८ करोड राहत

२०७७ सावन, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । चार महीना लामो लकडाउनका कारण कृषि उपजमा भएको क्षतिको मूल्यांकन गर्दै प्रदेश १ सरकारले कृषकलाई राहत वितरण गरेको छ । आगामी दिनमा व्यवसाय सञ्चालन गर्न उपयोग हुनेगरी प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

लकडाउनको कारणले उत्पादन विक्री गर्न नपाएर आर्थिक क्षति बेहोरेका किसानलाई प्रदेश १ सरकारले ८ करोड रुपैयाँ राहत वितरण गरेको छ । उत्पादनलाई बजारसम्म पु¥याउन नपाउँदा बारीमै फसल कुहिएकाले किसानले लगानी समेत उठाउन पाएका थिएनन् । त्यस्तै पशुपक्षी पालक किसानले पनि उत्पादित अण्डा, कुखुरा, दूध लगायत उत्पादन विक्री गर्न नपाई नष्ट गर्नुपरेको थियो ।

किसानलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन राहत कार्यविधि बनाएर राहत वितरण गरेको हो । प्रदेशका १६ सय ८० जना किसानलाई ७ करोड ९१ लाख ७४ हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले जानकारी दिए । प्रदेश सरकारले जिल्लाका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रबाट किसानलाई रकम उपलब्ध गराएको हो ।

कृषितर्फका किसानलाई कृषि विकास निर्देशनालय मातहतका निकायबाट राहत रकम वितरण गरिएको थियो । कृषि ज्ञान केन्द्र धनकुटा र तेह्रथुमबाट २०१ किसानलाई ६४ लाख ९१ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी कृषि ज्ञान केन्द्र झापाबाट ६६७ किसानलाई १ करोड ५६ लाख २३ हजार वितरण भएको छ ।

खोटाङमा एक कृषकले २९ हजार रुपैयाँ पाएका छन् । त्यसैगरी संखुवासभा ज्ञान केन्द्रबाट १४ कृषकलाई १ लाख ८ हजार र सुनसरी ज्ञान केन्द्रबाट मोरङ तथा सुनसरीका ३७५ किसानलाई १ करोड ५२ लाख २१ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

उदयपुरका १३ कृषकलाई ७ लाख ४२ हजार वितरण गरिएको छ । इलामका ३८ कृषकलाई त्यहाँको कृषि ज्ञान केन्द्रले २६ लाख ६० हजार बाँढेको छ । पाँचथर ताप्लेजुङ कृषि ज्ञानकेन्द्रबाट पाँचथरका एक किसानले ३० हजार पाएको मन्त्रालयले बताएको छ ।

पशुपन्छी र माछापालक किसानलाई पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय मातहतका निकायबाट राहत वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र पाँचथरले पाँचथर र ताप्लेजङुका १६ किसानलाई १४ लाख १६ हजार प्रदान गरेको थियो ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले धनकुटा र तेह्रथुमका १०० कृषकलाई १ करोड ३० लाख ४९ हजार वितरण गरेको छ भने संखुवासभा केन्द्रले १० कृषकलाई ४ लाख १९ हजार प्रदान गरेको छ । यस्तै उदयपुरको भेटेरिनरी अस्पतालले उदयपुर र खोटाङका १०२ कृषकलाई ६३ लाख ३० हजार उपलब्ध गराएको छ ।
मोरङका ३४ किसानलाई ५२ लाख ३६ हजार राहत वितराण गरिएको छ । सुनसरी केन्द्रले ८६ किसानलाई ६४ लाख ११ हजार बाँढेको छ । ओखलढुंगामा ५ कृषकलाई ४ लाख १४ हजार राहत वितरण गरिएको छ भने झापा केन्द्रबाट १६ किसानलाई  १३ लाख २४ हजार प्रदान गरिएको छ ।

आगामी दिनमा व्यवसाय सञ्चालन गर्न उपयोग हुनेगरी राहत रकम उपलब्ध गराइएको पोखरेलले जानकारी दिए, जसमा कृषि व्यवसायतर्फ ४ करोड ४२ लाख र १६ हजार र पशुपन्छीतर्फ ३ करोड ४६ लाख ३ हजार रुपैयाँ छ । विभिन्न वित्तीय संस्थाबाट ऋण लिएका किसानको ४ महीनाको ब्याज समेत तिरिदिएको उनले बताए । उक्त राहत रकमका लागि कृषि प्राविधिकले तयार गरेको प्रतिवेदन स्थानीय वडा कार्यालयबाट प्रमाणित भएर अनिवार्य रूपमा आउनुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)