वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको लघु औद्योगिक ग्रामको काम ८५ प्रतिशत सकिएको छ । वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा निर्माणाधीन उक्त औद्योगिक ग्रामको काम अन्तिम चरणमा पुगेको निर्देशक मुकुन्दनाथ योगीले वताए । प्रदेशका लघु तथा साना उद्यमीका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित औद्योगिक ग्राम आगामी ६ महीनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी उनले दिए । विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गतवर्ष प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । ६ ब्लक रहेको ग्रामको हालसम्म भौतिक प्रगति झण्डै ८५ प्रतिशत भएको निर्देशनालयका निर्देशक योगीले जानकारी दिए । असारसम्म सक्नुपर्ने औद्योगिक ग्रामको निर्माण बन्दाबन्दीका कारण ढिलाइ भएको निर्माण कम्पनी एसबीए÷रविन जेभीले बताएको छ । बन्दाबन्दी खुलेसँगै अबको ६ महीनाभित्र निर्माण सकेर हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएकोछ । ६ करोड २४ लाख ८२ हजार रुपैयाँ लागत रहेको औद्योगिक ग्रामको काम २०७४ फागुनदेखि थालिएको थियो । साना तथा लघु उद्यमीले उत्पादन गरेका वस्तुहरू राख्ने उद्देश्यले ग्राम निर्माण गरिएको निर्देशक योगीको भनाइ छ ।
औद्योगिक ग्राम सञ्चालनका लागि निर्देशिका बनाउने तयारी समेत कार्यालयले गरिरहेको छ । ग्राम बनेपछि यहाँका उद्यमीलाई सहज हुने निर्देशनालयले बताएको छ । कर्णालीमा विभिन्न सामग्री उत्पादन गर्ने उद्यमी रहेकाले उनीहरूको उत्पादनको प्रवद्र्धन हुने र उत्पादित सामग्री विक्री गर्न ग्रामले सहयोग पुग्ने अपेक्षा प्रदेश सरकारको छ ।