धनकुटा । धनकुटाका किसानले उत्पादन गरेको बन्दाकोभी विक्री नभएपछि बारीमै कुहिएको छ । लामो समयसम्म भएको बन्दाबन्दीका कारण बन्दाकोभी बारीमै कुहिएको हो ।
जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको करीब १ हजार हेक्टरमा व्यावसायिक तरकारीखेती गरिँदै आएको छ । त्यसमध्ये सबैभन्दा धेरै आलु र त्यसपछि बन्दाकोभीको उत्पादन हुने गरेको छ । लामो समय भएको बन्दाबन्दीले बेच्न ठिक्क पारेको बन्दाकोभीले ग्राहक नपाएपछि किसानको मुुख्य आम्दानीको स्रोत गुम्यो भने बन्दाकोभी बारीमै कुहियो ।
किसानको भान्सामै प्रभाव पुुग्ने गरी निम्तिएको समस्याले किसानहरू चिन्तित छन् । अब कसरी दैनिकी चलाउने समस्यामा परेको छथर जोरपाटी–६ की किसान सुष्मा थापाले बताइन् । उनले बीउ र मजदुर त परको कुरा घर खर्च नै कसरी चलाउने भन्ने समस्या परेको गुनासो गरिन् । सरकारले तरकारी किसानलाई राहतको कार्यक्रम ल्याउनु पर्ने थापाको भनाइ छ ।
विगतका वर्षहरूमा कम्तीमा रू. ७ सम्म प्रतिकिलो विक्री हुने गरेको बन्दा यो पटक सित्तैमा दिँदा पनि कसैले नलगेको किसानको गुनासो छ । कतिपय किसानले बन्दा हँसियाले काटेर बारीमै मल होस भनेर कुहाएका पनि छन् भने कतिपय किसानको बन्दा बोटमै कुहिएका छन् ।
अर्को सिजनको तरकारी खेतीका लागि बारी खनजोत गर्न अप्ठ्यारो भएकाले सित्तैमा लगिदिनु भनेर धेरै व्यापारीसँग अनुरोध गर्दा पनि कसैले नलगिदिएको छथर जोरपाटीकै किसान दिलमाया खड्काको गुनासो छ । उनले एउटा बोटमा ४ किलोसम्म फलेको बन्दा विक्री नै नभएको उनले बताएको छ । गाडीभाडा मात्रै तिरेर लैजानु भन्दा पनि कसैले नलगेको उनको गुनासो छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा २०४८ सालदेखि व्यावसायिक तरकारीखेती हुँदै आएको छ । व्यावसायिक तरकारीखेती हुने भएकाले सरकारले यो क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारीको पकेटक्षेत्र घोषणा गरेको छ । यो क्षेत्रमा अधिकांश किसानले तरकारी खेती गर्ने गरेका छन् भने तरकारीखेतीकै कारण धेरैको जीवनस्तर माथि उठेको छ ।
करीब ४ महीनासम्म भएको लकडाउनका कारण बाहिरी बजारमा तरकारी निर्यात हुन नसकेकाले किसानको बारीमा तरकारी कुहिएको छथर जोरपाटीको सिधुवाबजारका व्यापारी एवं उद्योग वाणिज्य संघ धनकुटा सदस्य नवीन गुरुङले बताए । उद्योग वाणिज्य संघले यहाँ उत्पादित तरकारी केही मात्रामा धनकुटा बजारमा सस्तो दररेटमा तरकारी विक्री गरेको भए पनि धेरै उत्पादन हुने भएकाले सबै विक्री गर्न सम्भव नभएको उनले बताए । तरकारी विक्री नभएपछि किसानहरूलाई गुजारा चलाउन समस्या भएकाले सरकारले राहतको कार्यक्रम ल्याउन पर्ने उनको भनाइ छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरी करीब १ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक रू. ३२ करोड मूल्यको तरकारी विक्री हुने गरेको छ । यो सिजनमा उत्पादन हुने मटरकोसा, रायोको साग, काउली र बन्दा गरी रू. ४ करोडको उत्पादन भएकोमा रू. १ करोड मूल्य बराबर तरकारीले मात्रै मूल्य पाएको र अन्य रू. ३ करोडको बारीमै कुहिएर खेर गएको सिँधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले बताए ।
यहाँ उत्पादित बन्दाकोभीको मुुख्य बजार पूर्वी तराइका शहर र भारतको पश्चिम बंगाल तथा विहारका विभिन्न शहर हुन् । तर, अचम्म त के छ भने अहिले गाउँ नजिकको बजार सिँधुवामा तराइमा उत्पादित तरकारी सहज रूपमा पाइन्छ । तर, बजार छेउका गाउँका किसानको बारीमा उत्पादित तरकारी कुहिएर खेर गइरहेको छ ।