ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशभर बेसारको नयाँ जात विस्तार

२०७७ सावन, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । नेपालमा बेसारको नयाँ जात विस्तार भएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यानको कपुरकोटले २ वर्ष लामो अनुसन्धानपछि बेसारको दुईओटा नयाँ जात पत्ता लगाएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यान कपुरकोटले ‘कपुरकोट हलेदो १’ र ‘कपुरकोट हलेदो २’ सहित बेसारको दुईओटा नयाँ जात सिफारिश गरेको हो ।

‘कपुरकोट हलेदो १’ नेपालका मध्य पहाड क्षेत्रमा खेतीका लागि सिफारिश गरिएको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा. समिद अहमदले जानकारी दिए । नेपालको तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुद्री सतहदेखि १ हजार ६०० मिटर उचाइको भूभागसम्म उत्पादन गर्न सकिने उनको भनाइ छ ।

‘अहिले हामीले नयाँ जातको करीब २ हजार ३०० केजी बीउ उत्पादन गरेर नेपालका विभिन्न जिल्लामा पु¥याएका छौं,’ उनले भने । सिफारिश गरिएको बेसारको कपुरकोट हलेदो ‘१’ को उत्पादन क्षमता २७ दशमलव ८३ मेट्रिकटन प्रतिहेक्टर छ भने बेसार बन्ने क्षमता १३ दशमलव ८ प्रतिशत छ । डा. अहमदका अनुसार यस जातको बेसारमा बास्नादार तेलको मात्रा ७ दशमलव ५ प्रतिशत छ ।

बेसारको नयाँ जातलाई धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेका कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराएको अदुवाबाली अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिएका छन् । ‘आगामी आर्थिक वर्षमा अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य छ,’ उनले भने, ‘यो नयाँ जातिको बेसार उत्पादन राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता बढी भएकाले पनि कृषकलाई सिफारिश गरिएको हो ।’

अदुवाबाली अनुसन्धान कार्यक्रमका अनुसार नेपालको करीब ७ हजार ३०० हेक्टर क्षेत्रफलमा बेसारको खेती गर्ने गरिएको छ, जसमा १ वर्षमा ७१ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

जिल्लाका तीन स्थानमा बेसार पकेट क्षेत्र विस्तार
सल्यानमा तीनओटा क्षेत्रलाई बेसार पकेट क्षेत्रको रूपमा विस्तार गरिएको छ । यहाँका किसानले सामूहिक बेसारखेती समेत शुरू गरिएको कृषि विकास कार्यालय सल्यानले बताएको छ । जिल्लाका शारदा नगरपालिकाका माल्नेटा, कालीमाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार उत्पादन पकेट क्षेत्रको रूपमा घोषणा गरी बेसार उत्पादन शुरू गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

जिल्लामा ३५० हेक्टरभन्दा बढी क्षेत्रफलमा बेसारखेती हुँदै आएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभर ३ हजार १४ मेट्रिक टन बेसार उत्पादन भएको छ भने यो वर्ष पनि समयमै मनसुन भएकोले उत्पादनमा वृद्धि हुने कार्यालयको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)