ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रष्टाचारको विवादमा मुछियो बेलका नगर

२०७७ सावन, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर


सुनसरी । सुशासन कार्यान्यवनमा उदाहरणीय बनेको उदयपुरको बेलका नगरपालिका पछिल्लो समय भ्रष्टाचारको विवादमा मुछिएको छ । बेलका नगरकी उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकाभित्र भ्रष्टाचार हुने गरेको अभिव्यक्ति सामाजिक सञ्जालमा दिँदै राजीनामा दिने चेतावनी दिएपछि पालिकाभित्र आन्तरिक विवाद समेत चुलिँदै गएको छ ।

साउन ७ गते बेलका उपप्रमुख चौधरीले नगरपालिकाका कर्मचारीबाट भ्रष्टाचार भए पनि नगरप्रमुखले जोगाउन खोजेको अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिसँगै उनले पदबाट राजीना दिने घोषणा समेत गरिन् । उनकै सो अभिव्यक्तिले अहिले बेलका नगरपालिका भ्रष्टाचारको मुद्दामा विवादित बनेको हो ।

तर, उपमेरले आफ्नो अभिव्यक्तिलाई ‘मानवीय त्रुटि’ भएको भन्दै साउन ११ गते विज्ञप्ति जारी गरी अभिव्यक्ति सच्याइन् । तर, उनको अभिव्यक्ति ‘सत्य भएको’ भन्दै प्रतिपक्षी दलका नेताहरूले विवादित भ्रष्टाचारको विषयमाथि सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गर्दै आन्दोलन नै शुरू गरेको छ ।

उपप्रमुख चौधरीले भने आफू दबाबमा रहेको बताउँदै थप प्रतिक्रिया दिन चाहिनन् । चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिको गाम्भीर्यताबाट उत्पन्न भएको परिस्थितिले पर्न गएको असहजताप्रति उठेको प्रश्नहरूको विषयमा छलफल गरी मेरो तर्फबाट आत्मालोचना गर्दछु ।’

चौधरीको अभिव्यक्तिपछि नगरपालिका प्रमुख पनि विवादमा तानिएका छन् । प्रदेशमै ‘नमूना नगरपालिका’को उपमा पाएको बेलकामा भ्रष्टाचारको मुद्दा पेचिलो बन्दै गएको छ । भ्रष्टाचारको आरोप लागेका कार्यालयमा कार्यरत कम्प्युटर सहायक अपरेटर सन्तोष पौडेललाई जोगाउन खोजेको आरोप नगरप्रमुखमाथि छ ।

सुशासन कायम गर्न हरेक किसिमका मापदण्डहरू लागू गरेकाले कुनै पनि किसिमको भ्रष्टाचार नहुने नगरपालिकाको भनाइ छ । आइतवार पत्रकार सम्मेलन गर्दै प्रमुख थापाले भने, ‘उपप्रमुख चौधरीले लेखेको स्टाटसको विषयमा ११ गते नै प्रेस विज्ञप्ति जारी गरी आत्मालोचना गर्नुभएको हुनाले यो प्रकरण नितान्त मानवीय कमजोरीका कारण भएको स्पष्ट भइसकेको छ ।’

उपप्रमुख चौधरीले आत्मालोचना गरे पनि उनको स्टाटसबारे सत्यतथ्य छानविन गर्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित अन्य ४ राजनितिक दलले भने एक सातादेखि आन्दोलन गरिरहेका छन् । न्याय दिलाउने पदमा रहेकी उपप्रमुखले नगरपालिकामा भ्रष्टाचार भएको छ, राजीनामा दिन्छु भन्ने अभिव्यक्तिले स्थानीय तहको काम गर्ने शैलीप्रति स्थानीयहरू संशकित बनेको अन्य राजनीतिक दलका प्रतिनिधिहरूको भनाइ छ ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केन्द्रीय महासभा प्रतिनिधि तथा बेलका नगरपालिकाका छायाँ सरकार प्रमुख अशोक कार्कीले उपप्रमुखको अभिव्यक्ति के हो भनेर प्रतिपक्षी मात्रै नभई स्थानीयले जान्ने अधिकार भएकाले सत्यतथ्यको जानकारी गराउन माग गरिएको बताए । उनले भने, ‘उहाँ राजकुमारी चौधरी मात्रै होइन्, उपप्रमुख पनि हो, न्यायमूर्ति पनि हो, न्याय दिलाउने ठाउँमा बसेको मान्छे, आफैं न्यायका लागि रोइलो गर्दै हिड्नु भएको छ भने यो विषयमाथि छानविन अनिवार्य छ ।’

नगरप्रमुखसँग छलफल गर्न खोज्दा कानूनी प्रक्रियामा जानुस् भन्ने प्रतिक्रिया आएकाले कानून अनुसार नै अघि बढ्ने उनको भनाइ छ । उपप्रमुखलाई धाकधम्की र दबाबका कारण आत्मालोचना गराएको समेत उनको दाबी छ ।

खण्डन समेत भइसकेको स्टाटसलाई आधार बनाएर कपोलकल्पित भ्रष्टाचारको आरोप लगाई प्रोपोगाण्डा मच्चाउने पक्षलाई भ्रष्टाचार प्रमाणित गर्न नगरप्रमुख थापाले चुनौती दिएका छन् । उनले भने, ‘शनिवार बसेको कार्यपालिका बैठकले भ्रष्टाचार प्रमाणित गर्न नै चुनौती दिएको छ, यस्तो कोरोनाको महामारीमा स्थानीयलाई सुरक्षा प्रदान गर्नु पर्ने अवस्थामा असुरक्षित वातावरण नबनाउन आग्रह गर्दछु ।’

कार्यपालिका बैठकले नगरका प्रवक्ता मोहन घिमिरेको संयोजकत्वमा दिनेश्वर प्रसाद चौधरी र जयकुमार राई सदस्य रहेको अध्ययन समिति गठन गरिसकेको उनले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)