ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमित बढ्न थालेपछि आइसोलेसनको चिन्ता

२०७७ सावन, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । गत बिहीवार धरान–३ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरूलाई २४ घण्टासम्म होम आइसोलेसनमा बस्नु पर्‍यो । शुक्रवार धरान १५ का एक १० वर्षे बालक पनि घरमै छन् । शनिवार उनका आमा र हजुरआमासहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, तुरुन्तै उनीहरूलाई अस्पतालको आइसोलेसनमा राख्न सकिएको छैन् ।

धरानमै रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा बेड अभाव भएपछि उनीहरूलाई घरमै राख्न परेको हो । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितहरूको उपचारको व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश १ र २ कै कोरोना संक्रमित बिरामीहरू रिफर गरिने हुँदा सुनसरीका कोरोना संक्रमित बिरामीहरूको व्यवस्थापनमा कठिनाइ हुने देखिएको छ ।

प्रतिष्ठानमा कोरोना संक्रमण देखिएका तर, लक्षण नभएका बिरामीलाई राख्न ७० जनाको क्षमता भएको कक्ष रहेको छ, तर त्यहाँ पनि ८७ जना बिरामी छन् । लक्षण देखिएका संक्रमितहरूलाई राख्न छुट्टै पेइङ वार्डलाई आइसोलेसन कक्ष पनि बनाइएको छ । थप लेभल ३ को कोभिड–१९ अस्पताल पनि प्रतिष्ठानमा छ । प्रतिष्ठानको सो अस्पताल भने सञ्चालनमा आइसकेको छैन् ।

पछिल्लो समय धरानमा मात्रै ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २१ जनामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकाले दैनिक कोरोना संक्रमितका सम्पर्कमा रहेका बिरामीहरूको स्वाब परीक्षण गरिरहेको छ । गत २० गतेयता ७९७ जनाको स्वाब परीक्षण गरिएकोमा १३० जनाको रिपोर्ट आउँदा ६ जनामा कोरोना पुष्टि भएको छ ।

धरानमा बढ्दै गएको कोरोना संक्रमणका बिरामीलाई प्रतिष्ठानमा व्यवस्थापन गर्न समस्या हुन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता बताउँछन् । ‘प्रतिष्ठानका चिकित्सकहरूसँग सल्लाह भइरहेको छ, बिरामी बढ्दै गएकाले बेडको समस्या हुन सक्छ, त्यसका लागि संक्रमण देखिएका तर, लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा राख्नु पर्ने सुझाव आएको छ,’ उनले भने, ‘त्यसका लागि धरान उपमहानगरपालिकाले नै व्यवस्थापन गर्ने तयारी भएको छ ।’ परीक्षणको मात्रा बढ्दै गएकाले पनि कोरोना संक्रमित थपिन सक्ने भएकाले अस्पतालमा आइसोलेसनको व्यवस्थापन गर्न समस्या हुने उनको भनाइ छ ।

प्रतिष्ठानमा ३ तहका बिरामीलाई व्यवस्थापन गर्ने गरी तयारी भएकाले अहिले नै कुनै समस्या भने नआउने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘अहिले नै त्यस्तो समस्या त आउँदैन तर, कोरोना संक्रमण बढ्दै गएकाले अभाव हुन सक्छ ।’

कोभिड अस्पताल पनि केही दिनमै शुरू हुने तयारी भएकाले समस्या नहुने उनले बताए । उनले भने, ‘१०० जना व्यक्ति संक्रमित हुनुभयो भने ३ देखि ५ जनालाई आइसोलेसन दिनु पर्ने हुन्छ । १ लाखसम्म पुग्यो भने ५ हजार जनालाई आइसोलेसन दिनु पर्छ, त्यस्तो अवश्थामा त पक्कै पनि चुनौतीपूर्ण नै रहन्छ ।’

धरानमा प्रदेशका विभिन्न अस्पतालबाट प्रतिष्ठानमा रेफर भएर आउने बिरामीका संख्या बढ्दै गएको छ । जसका कारण धरानलगायत आसपासका बिरामीहरूको लागि आइसोलेसन कक्षको अभाव हुने निश्चित देखिएको छ । समयमै आइसोलेसन कक्ष थप तथा अन्य व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)