ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा इन्धन भण्डारण गृह निर्माण अलपत्र

२०७७ सावन, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । कर्णालीमा इन्धन भण्डारण गृह निर्माण अलपत्र परेको छ । प्रदेशको समृद्धि र विकासका लागि महत्त्वपूर्ण मानिएको इन्धन भण्डारण संरचना निर्माण सरकारी पक्षको उदासीनताले ३ वर्षदेखि अलपत्र परेको हो । भण्डारण निर्माण संरचनाको काम हालसम्म कागजमै सीमित भएको छ ।

नेपाल आयल निगमले ३ वर्ष पहिले सुर्खेतको वीरेन्द्रनगर–११, स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिगाहा जग्गामा इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । भेरी नदीको डिल हुँदै राजमार्गसम्म फैलिएको जग्गाको क्षेत्रफल ३४ बिगाहा ४ कठ्ठा ७ धुर रहेको छ । ‘त्यतिबेला जग्गा भाडामा लिन अनुमतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म निगमका कागजात पुगेका थिए,’ निगमको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपकप्रसाद घिमिरेले भने, ‘वीरेन्द्रनगर सदरमुकामदेखि १३ किलोमिटर दूरीमा रहेको उक्त जग्गा बस्तीभन्दा टाढा रहेकाले पनि भण्डारणस्थल निर्माणका लागि उपयुक्त थियो । तर, सरकारले नै आवश्यक प्रक्रिया अघि बढाउन नसक्दा निर्माण कार्य अलपत्र परेको हो ।’

भण्डारण गृह बनाउने योजनाको हालसम्म सम्भाव्यता अध्ययन समेत हुन नसकेको उनले खुलासा गरे । उनका अनुसार सबै प्रदेशमा कम्तीमा ३ महीनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने सरकारको नीतिअनुसार कर्णालीमा पनि इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको थियो । ‘प्रदेशको समृद्धि र विकासका लागि सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण अति जरुरी छ,’ उनले भने, ‘निगमले इन्धन भन्डारण गृह बनाउने योजना बनाए पनि सरकारी पक्षबाटै ढिलासुस्तीका कारण हालसम्म भौतिक प्रगति हुन नसकेको हो ।’

३ वर्ष पहिले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल ट्रस्टको भेरी किनारको जग्गामा इन्धन भण्डारण गृह स्थापनका लागि ठाउँ मात्र छनोट गरेको उनले बताए । सरकारले नै जग्गा उपलब्ध गराउन नसक्दा इन्धन भण्डारण निर्माण अलपत्र परेको उनको भनाइ छ । नाकाबन्दी जस्तै अन्य संकटको सम्भावनालाई ध्यानमा राखेर कर्णालीका उपभोक्तालाई जुनसुकै बेला पनि सहजरूपमा इन्धन उपलब्ध गराउन निगमले इन्धन भण्डारण निर्माणको योजना अघि सारेको थियो ।

कर्णालीमा डिजेल, पेट्रोलको भण्डार नभएकै कारण इन्धन आपूर्तिमा बेला–बेला समस्या उत्पन्न हुने गरेको छ । प्रतिलिटर १०० रुपैयाँमा पाउने पेट्रोललाई संकटका बेला उपभोक्ताले ७०० रुपैयाँसम्म तिर्नुपरेको थियो । इन्धन भण्डारण गृह निर्माणको घोषणा गरिए पनि सरकारको सहयोग र आयल निगमको ठोस पहल नहुँदा योजना अघि बढ्न सकेको छैन । अन्य प्रदेशको तुलनामा कर्णालीमा इन्धनको माग कम छ ।

कर्णाली प्रदेशमा हाल दैनिक २ लाख ४० हजार लिटर डिजेल र ५० हजार लिटर पेट्रोलको खपत हुने गरेको छ । प्रदेशभरका १० जिल्लामा १३ ओटा मात्र पेट्रोलपम्प छन् । २०५२ सालदेखि सञ्चालनमा आएको आयल निगमको सुर्खेत डिपोमा अहिले ४५ हजार लिटर मट्टीतेल र ६० हजार लिटर हवाई इन्धन मात्र अट्ने क्षमता छ । वार्षिक झन्डै ३ लाख लिटर मट्टीतेल विक्री हुँदै आएको छ भने हवाई इन्धन ७ दिनलाई मात्रै पुग्ने गरेको छ ।

इन्धन भण्डारण नहुँदा ऊर्जाक्षेत्रमै संकट आएपछि कर्णालीका उद्योगी व्यवसायीले भण्डारण क्षमता बढाउन सरकारलाई दबाब दिँदै आएका छन् । सरकारले आश्वासन दिए पनि कार्यान्वयन नहुँदा इन्धन भण्डारण गृह निर्माण अघि नबढेको सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले बताए । इन्धन भण्डारण गृह निर्माणको योजना ल्याए पनि त्यसलाई अघि बढाउन सरकारले चासो नदेखाएपछि आफूहरू निराश भएको उनके गुनासो छ । सरकारले जुनसुकै बेला पनि इन्धन आपूर्ति सहज राख्न १०० दिनलाई पुग्नेगरी भण्डारणको क्षमता बढाउन अति आवश्यक रहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)