ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माणको ७ वर्षपछि रामघाट सबस्टेशन सञ्चालन

२०७७ सावन, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा निर्माण सम्पन्न भएको ७ वर्षपछि रामघाट सबस्टेशन सञ्चालनमा आएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन अन्तर्गत रामघाट सबस्टेशनसम्म ११ केभी लाइन पुगेपछि मंगलवारदेखि सञ्चालनमा ल्याइएको हो ।

२०६८ सालमा निर्माण शुरू भएको सबस्टेशन २०७० जेठमा सम्पन्न भएको थियो । उक्त सबस्टेशनमा ११ केभीका तीनओटा फिडर निर्माण गरी ६० ओटा ट्रान्सफर्मर जडान गर्न समय लागेकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताए । ‘सबस्टेशनको पहिलो फिडर सञ्चालन भएको छ,’ उनले भने, ‘दोस्रो फिडर पनि केही दिनमै सञ्चालन हुँदै छ । तेस्रो फिडरको वन क्षेत्रमा समस्या भएकाले केही ढिलो हुने देखिन्छ ।’ उनका अनुसार उक्त सबस्टेशनबाट रामघाट–छिन्चु–हर्रे, रामघाट–दशरथपुर–कल्याण–चिङगाड र रामघाट–जहरे–बोटेचौर फिडर सञ्चालन हुनेछन् ।

यसअघि ३३ केभी लाइन ट्यापिङ गरेर सेवा दिँदै आएकोमा सबस्टेशन सञ्चालन भएपछि ११ केभी लाइनबाट ग्राहकले विद्युत् सेवा पाउने गिरीले बताए । अब सुर्खेतमा लाइन ट्यापिङ गर्दा हुने ट्रिपिङको समस्या पनि समाधान हुने अपेक्षा राखिएको छ । करीब ५ करोड ५० लाख रुपैयाँ लागतमा सबस्टेशन सम्पन्न भएको थियो । यो सबस्टेशन आरके इन्टरनेशनल कम्पनीले निर्माण गरेको हो । यसको नियमन तथा अनुगमन प्राधिकरणको सुर्खेत प्रादेशिक कार्यालयले गरेको थियो ।

रामघाटमा सबस्टेशन सञ्चालनमा आएसँगै पूर्वी सुर्खेतका झण्डै २५ हजार ग्राहकले गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा राखिएको छ । ‘पूर्वी सुर्खेतका विभिन्न गाउँमा ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुने लगायत समस्या थिए,’ केन्द्र प्रमुख गिरीले भने, ‘अब कोहलपुर ३३ केभीबाट रामघाट सबस्टेशनमा विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको नियमितता बढ्नेछ ।’

उक्त सबस्टेशनमा तीनओटा फिडर राखिएका छन् । त्यसमध्ये ११ केभीका दुईओटा फिडरबाट विद्युत् आपूर्ति गरिएको गिरीले जानकारी दिए । लोडशेडिङ अन्त्य भएपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा थप सबस्टेशनको निर्माणसँगै स्तरोन्नति गर्ने प्राधिकरणको योजना छ ।

राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले सबस्टेशन निर्माणछि पूर्वी सुर्खेतका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा राखेको बताएको छ । ‘हामीले वर्षौंदेखि लोडशेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौं, रामघाट सबस्टेशन सञ्चालनपछि यो समस्या समाधान हुने अपेक्षा राखेका छौं,’ मञ्चका कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले भने, ‘यसले उद्योग कलकारखाना स्थापनाका लागि पनि महत्त्वपूर्ण सघाउ पुग्नेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)