ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोब्बर मूल्यमा रासायनिक मल विक्री गर्ने पसल सिल

२०७७ भदौ, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

भदौ २, सुर्खेत । संयुक्त बजार अनुगमन समिति सुर्खेतले अनाधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल जफत गरेको छ । बर्दियाको मधुवनस्थित खनाल एग्रोभेटले अवैध रुपमा रासायनिक मल सुर्खेतको भेरीगंगा–१०, छिन्चु स्थित कमला एग्रोभेट सेन्टरलाई बेच्दै गरेको विशेष सूचनाको आधारमा अनुगमन समितिले मंगलवार उक्त एग्रोभेट सेन्टरबाट ६२ बोरा मल जफत गरेको हो । 

रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्रबिना नै सञ्चालित कमला एग्रोभेटले सरकारले तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल विक्री गरेको पाईएपछि अनुगमन समितिले पसल नै सिल गरिदिएको छ । प्रतिबोरा ८१६ रुपैयाँ मूल्य पर्ने युरिया मल २  हजार ७०० देखि तीन हजार रुपैयाँसम्ममा बेचबिखन भएको थाहा पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले पसल सिल गरेको हो । 

नेपाल सरकारको रासायनिक मल कारोवार गर्ने ईजाजत नलिई अनाधिकृत तवरले महँगोमा किसानलाई बेचेको खुलेपछि बाँकी मल जफत गरिएको सहायक प्रजिअ पौडेलले बताए । उनले ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख माधव चौधरी नेतृत्वको टोलीले २३ बोरा अवैध रासायनिक मल बोकेको से १ च–११०६ नम्बरको जीपलाई समेत नियन्त्रणमा लिएर कागजात वैैधानिक पाईएपछि छोडिएको जानकारी दिए । 

उनका अनुसार जफत गरिएको अवैध रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन शाखा सुर्खेतको गोदामका राखिएको छ । ‘अवैध रासायनिक मल नियन्त्रण गर्नुका साथै पसल नै सिल गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढेको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्र नै नलिई महँगोमा कृषकलाई मल विक्री गरेको पाइएकाले कालाबजारी ऐन अन्तर्गत मुद्धा चलाएर आवश्यक कारवाही गर्छौ ।’ कोहलपुरबाट ल्याईएको उक्त २३ बोरा मल नियन्त्रणमा लिएर छोडिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । 

प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको २३ बोरा मलमध्ये ११ बोरा मल बेचिसकेकाले बाँकी मलमात्र जफत गरिएको ईप्रका छिन्चुका प्रमुख चौधरीले बताए । वास्तविक मूल्यभन्दा एक हजार ४०० रुपैयाँ भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । 

मलको अभाव कायमै 
धान रोपाइ शुरु भएसँगै सरकारी अनुदानबाट प्राप्त रासायनिक मलको कालोबजारी बढेको छ । सरकारी अनुदानको मल, कृषि सहकारी संस्थाहरुले सिधै किसानलाई विक्री गर्नु पर्ने ठाउँमा मुनाफा लिएर व्यापारीलाई विक्री गरिन थालेपछि किसान दोब्बर मूल्यमा मल किन्न बाध्य छन् । 

भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरीद गरेर ल्याएको रासायनिक मल, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ । 

तर सुर्खेतमा भने कृषि सहकारी संस्थाहरुले लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल, किसानलाई नदिएर बढी मुनाफाको लोभमा व्यपारीलाई विक्री गरिरहेको कृषकको आरोप छ । 

लकडाउनको बहानामा कृषि सहकारीले पसलहरुमा विक्री गरेर बजार महँगो भएको हो । यसपालि रासायनिक मल अभावमा धानको उत्पादनमा समेत कमी आउने देखिन्छ । धान रोपाई शुरु भएदेखि नै कृषकले पर्याप्त मल नपाउँदा समस्या परेको छ । 

यता साल्ट ट्रेडिङ कर्पोरेशनसँग मलको माग गर्दा कृषि सहकारी संस्थालाई समान रुपले वितरण गरेको बताइरहेको छ भने कृषि सहकारी संस्थामा बुझ्दा मल नै नआएको बताउँछन् । तर त्यस्तै मल चर्को मूल्यमा पसलमा विक्री भइरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)