सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा आयुर्वेद सेवा केन्द्र स्थापना गरिने भएको छ । प्रदेश आयुर्वेद औषधालय र चौकुने गाउँपालिकाको समन्वयमा नेपाल सरकारले चौकुने गाउँपालिकाको गुटुमा आयुर्वेद सेवा केन्द्र स्थापना गर्न लागेको हो ।
संघीय सरकारको नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत आयुर्वेद सेवा केन्द्र स्थापना गर्न लागिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले जानकारी दिए । चौकुने गाउँसभाबाट आयुर्वेद सेवा केन्द्र स्थापनाका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले यस वर्ष चौकुनेलाई नै प्राथमिकतामा राखिएको उनले बताए । ‘आयुर्वेदको कुनै पनि पहुँच नपुगेको चौकुने गाउँपालिकाका विभिन्न जंगलमा पर्याप्त जडीबुटी भए पनि शोध, अनुसन्धानको अभावमा त्यत्तिकै खेर गइरहेका छन्,’ उनले भने, ‘हाललाई आयुर्वेद उपचार केन्द्र स्थापना भए पनि त्यहाँका नागरिकले आयुर्वेदको महŒव, जडीबुटीको पहिचान र प्रभावका बारेमा जानकारीका साथै स्वास्थ्य लाभ समेत पाउनेछन् ।’
चौकुने गाउँपालिका र प्रदेश आयुर्वेद औषधालय मार्फत कर्मचारी व्यवस्थापन गरेर तत्कालै आयुर्वेद उपचार सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको रिजालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाकाले आयुर्वेद उपचार सेवा केन्द्र सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै कम्तीमा दुईजना जनशक्ति उपलब्ध गराउनु पर्नेछ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आयुर्वेद सेवा केन्द्र सञ्चालनका लागि जनशक्तिसँगै भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकिएको बताए । ‘चौकुने गाउँपालिकामा आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासो र माग शुरूदेखि नै रहिआएको छ,’ उनले भने, ‘गाउँपालिकाले चौकुनेमा आयुर्वेद सेवा केन्द्र मात्र होइन, कम्तीमा २५ शøयाको आयुर्वेद चिकित्सालय खोल्न नेपाल सरकारसँगै प्रदेश सरकारसँग माग गर्दै आएको छ ।’ आयुर्वेदको विकास तथा उन्नतिका लाग गाउँपालिका सदैव तयार रहेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षदेखि चौकुने गाउँपालिकाले आयुर्वेद सेवा केन्द्र सञ्चालनमा ल्याउन सबै तयारी पूरा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । चौकुनेमा आयुर्वेद सेवा केन्द्र सञ्चालनसँगै जडीबुटी संकलन एवं प्रशोधन केन्द्र स्थापना गर्न जरुरी रहेको उनले औंल्याए । आयुर्वेद उपचार केन्द्रमा आधारभूत आयुर्वेद सेवा, सामान्य आयुर्वेद सेवा, जीवनशैली परिवर्तन सम्बन्धी आहार–विहार, प्राकृतिक खानपान, योग, ध्यान, प्राणायाम लगायत सेवा उपलब्ध हुनेछन् ।