ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको बहानामा टमाटरमा कालोबजारी

२०७७ भदौ, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

भदौ ६, धरान । लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्नु परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । 

धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ । किसानको खेतमै गएर थोक व्यापारीहरुले टमाटर खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै थोक मूल्यमै दोब्बर मूल्य लिने गरेको पाइएको हो । 

किसानका अनुसार थोक व्यापारीहरुले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर ३० देखि ३५ रुपैयाँ किलोसम्ममा खरीद गर्ने गरेका छन् भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट ६५ देखि ७० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोक मूल्य (होलसेल) मै ११० रुपैयाँसम्म पुग्ने गरेको छ भने उपभोक्ताले १६० रुपैयाँ प्रतिकेजी खरीद गर्नु पर्ने बाध्यता रहेको छ । 

थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका पाइएको छ । धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोइलाले उत्पादन कम भएकाले विगत वर्षहरूभन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्वीण्टल टमाटर विक्री हुने गरेको छ । 

त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिव समेत रहेका किसान अमरबहादुर दाहालले हिजोआज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले ३०/३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको सुन्नमा आएको बताए । उनले बजारमा पुग्दा ७० रुपैयाँ प्रतिकेजीमा विक्री हुनु पर्ने बताए । 

धरान कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले यो हालसम्मकै उच्च मूल्य रहेको बताए । उनले भने, ‘दुई वर्षअघि बाढीपहिरो आएका बेला थोकमा ८० रुपैयाँ प्रतिकेजीसम्म पुगेको थियो, बजारमा पुग्दा ९० सम्म विक्री हुन्थ्यो । तर, यसपटक त थोकमै ११० रुपैयाँ पुगेको छ ।’ तर पनि धरानका थोक व्यापारीले गाडीभाडा प्रतिकेजी ५ रुपैयाँ बढी लिँदा र आफूलाई ५ रुपैयाँ मार्जिन राख्दा पनि फाइदा नै हुने उनले बताए । 

यता महँगो मूल्यमा थोकमै विक्री हुन थालेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले जाँच गरेपछि ११० रुपैयाँ मै बेच्नुपर्ने भएमा बेच्न छाड्नका लागि व्यापारीलाई निर्देशन गरेको छ । 

अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले भने, ‘आज बिहान चार बजे नै गएर निरीक्षण गर्दा ११० रुपैयाँ प्रतिकेजी थोकमै विक्री भएको पाइयो, अनि धनकुटाका किसानलाई सोध्दा त्यस्तो नभएको पाइएपछि ११० मै बेच्नुपर्छ भने नबेच्नुस् भनेको हो ।’

उनले पनि धनकुटाका किसान लगायत त्यहाँका व्यापारीहरूलाई बुझ्दा किसानबाट ६५ देखि ७० रुपैयाँमा किन्ने गरेको छ भने व्यापारीहरूबाट ८० रुपैयाँ प्रतिकेजी उठाउने गरेको बुझिएको बताए । तर, यता आइपुग्दा बिचौलियाका कारण महँगो मूल्यमा विक्री भइरहेको पाइएपछि तत्कालका लागि विक्री वितरण गर्न रोक्न निर्देशन गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)