ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा सवारी दुर्घटनाको दरमा आयो कमी

ट्राफिक कार्यालयको राजस्व संकलन करीब आधा घट्यो

२०७७ भदौ, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा सवारी दुर्घटनामा कमी आएको छ । विगतमा सवारी दुर्घटना हुनेको दर धेरै थियो । तर, ट्राफिक प्रहरीको सक्रियता र नागरिक सचेत बन्न थालेपछि जिल्लामा सवारी दुर्घटनामा कमी आएको ट्राफिक कार्यालयको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभर ६८ ओटा सवारी दुर्घटना भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ३३ प्रतिशतले कमी हो । अघिल्लो वर्ष जिल्लाभर १०१ ओटा सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाभर सवारी दुर्घटनामा परेर १५ जनाले अकालमा नै ज्यान गुमाएका छन् भने अघिल्लो वर्ष सोही अवधिमा १८ जनाको मृत्यु भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभर सवारी दुर्घटनामा परेर ७ जना शक्त घाइते र ११२ जना सामान्य घाइते भएका छन् भने अघिल्लो वर्षमा २५ जना शक्त घाइते र १५६ जना सामान्य घाइते भएका थिए । विगतको वर्षलाई हेर्दा जिल्लामा सवारीसाधन दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दिप विकले जानकारी दिए ।

जिल्लाभर ट्राफिक प्रहरीले गरेको थप कडाइले पनि सवारी दुर्घटनामा कमी आएको उनको भनाइ छ । ‘चालकको लापरवाही, तीव्र गति, क्षमता भन्दा बढी यात्रु बोक्नु, कच्ची तथा जीर्ण सडकलगायत कारणले बढी मात्रामा सवारी दुर्घटना हुने गरेको छ’, उनले भने, ‘ट्राफिक प्रहरीको चेकजाँचमा थप कडाइ, ठाँउ–ठाँउमा चेक प्वाइन्ट स्थापना तथा चालक र यात्रुहरूको सावधानीका कारण सडक दुर्घटनामा कमी आएको हो ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले प्रहरी र ट्राफिक प्रहरीसहित सरोकारवाला निकायहरूको सक्रियतामा सवारी दुर्घटनामा कमी आएको बताए । ‘यात्रुसँग २ मिनेट’ कार्यक्रम, चालक, सहचालक, यातायात व्यवसायी र सरोकारवालाहरूसँग भएका पटक–पटकका छलफल तथा आम यात्रुहरूको सावधानीले जिल्लामा सवारी दुर्घटनामा कमी आएको उनको भनाइ छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आपूmहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएको उनले बताए ।

राजस्व संकलनमा कमी
सल्यानमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा राजस्व संकलनमा निक्कै कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ मा रू. ३२ लाख ६८ हजार ५०० राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ४३ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कार्यालयले रू. ५६ लाख ५५ हजार ५०० राजस्व संकलन गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ट्राफिक नियम उल्लंघन गर्ने यात्रुवाहक बसबाट रू. ५ लाख ६० हजार, ट्रकबाट रू. ४ लाख ५७ हजार, जीपकारबाट रू. ६ लाख २३ हजार ५००, मोटरसाइकलबाट रू. १३ लाख २४ हजार र ट्र्याक्टरबाट रू. ३ लाख ४ हजार राजस्व संकलन गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)