भदौं ७, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर जितेर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । आइतवार थप ४ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १ हजार ९७३ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेत र जुम्लाका दुई/दुई जना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २४४ पुगेको छ । प्रदेशमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६५ जना आइसोलेशनमा रहेका छन् ।