ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको बहानामा टमाटरमा कालोबजारी

थोकमूल्य रू. ११०, बजारमूल्य रू. १६०

२०७७ भदौ, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ ।

किसानको खेतमै गएर थोक व्यापारीहरूले टमाटर खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै उपभोक्तासँग थोकबजारमा दोब्बर मूल्य लिने गरेको पाइएको हो । किसानका अनुसार थोक व्यापारीहरूले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर प्रतिकेजी रू. ३० देखि रू. ३५ सम्ममा खरीद गर्ने गरेका छन् भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट प्रतिकेजी रू. ६५ देखि रू. ७० मा विक्री भइरहेको छ ।

सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोकमूल्य रू. ११० सम्म पुग्ने गरेको छ भने उपभोक्ताले प्रतिकेजी रू. १६० मा खरीद गर्न पर्ने बाध्यता रहेको छ । थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका छन् ।

धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोईरालाले उत्पादन कम भएकाले विगतका वर्षहरू भन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा मूल्य निधाएरण हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्विन्टल टमाटर विक्री हुने गरेको छ ।

त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिव समेत रहेका किसान अमरबहादुर दाहालले हिजोआज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले प्रतिकेजी रू. ३० देखि रू. ३५ मा खरीद गरेर लैजाने गरेको बताए । बजारमा पुग्दा प्रतिकेजी रू. ७० को हाराहारीमा विक्री हुन पर्ने उनको भनाइ छ ।

धरान कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले यो हालसम्मकै उच्च मूल्य भएको बताए । उनले भने, ‘दुई वर्षअघि बाढीपहिरो आएका बेला थोकमा प्रतिकेजी रू. ८० सम्म पुगेको थियो, बजारमा पुग्दा प्रतिकेजी रू. ९० सम्म विक्री हुन्थ्यो । तर, यसपटक त थोकमै प्रतिकेजी रू. ११० पुगेको छ ।’ तर पनि धरानका थोक व्यापारीले ढुवानी खर्च प्रतिकेजी रू. ५ र मार्जिन रू. ५ राख्दा पनि फाइदा नै हुने उनको भनाइ छ ।

यसैबीच महँगो मूल्यमा थोकमै विक्री हुन थालेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गरी प्रतिकेजी रू. ११० मा नै बेच्न पर्ने भए बेच्नै छाड्न व्यापारीलाई निर्देशन गरेको छ । अनुगमन अधिकृत बेदप्रकाश सापकोटाले भने, ‘बिहान चार बजे नै गएर निरीक्षण गर्दा प्रतिकेजी रू. ११० मा थोकमै विक्री भएको पाइयो, अनि माथिका (धनकुटा) किसानलाई सोध्दा त्यस्तो नभएको पाइएपछि रू. ११० मै बेच्नुपर्छ भने नबेच्नुस् भनेका छौं ।’

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले महँगो मूल्यमा विक्री गरिरहेको हो भने जफत गर्नुस् भनेर बजार अनुगमन अधिकृतलाई निर्देशन दिएको बताए । उनले भने, ‘केही व्यापारी साथीहरू यो संक्रमणको बेला कमाउ धन्दामा लागेको भन्ने सुन्नमा आयो, त्यसो हो भने तत्काल रोक्नुस्, कारबाही गर्नुस् भनेर मैले निर्देशन दिइसकेको छु । त्यस्तालाई कारबाही हुन्छ । महँगोमा विक्री हुनु हुँदैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)