भदौ ९, धनकुटा । उमेरले ६० वर्ष नाघेका हिरालाल गन्धर्वले सारंगी रेट्दै हिडेको करीब ४७ वर्ष भएको छ । उनी अहिले धनकुटा नगरपालिका वडा नं. ५ बिहीवारे हाट नजिकै परिवारसँगै बस्दै आएका छन् । ४७ वर्ष लामो सारंगीको यात्रामा उनले कहिले पनि यो वर्षको जस्तो पीडा भोग्नु परेको थिएन ।
विभिन्न हाटबजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिरालाललाई कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनले निक्कै समस्या परेको छ ।
गत चैत ११ देखि यहाँसम्म आईपुग्दा उनलाई दैनिक गुजारा चलाउन निकै गाह्रो भएको उनी बताउँछन् । हिरालालको २ श्रीमती, १ छोरा, १ वुहारी र २ जना नातिनातिनी गरी ७ जनाको परिवार रहेको छ । दैनिक जसो हाटबजार जाने सारंगी बजाउने २/४ हजार बटुल्ने अनि परिवार चलाउने गरेका हिरालाललाई लकडाउनको पछिल्लो समय ७ जनाको परिवार धान्न निक्कै मुस्किल परेको उनको भनाइ छ ।
परिवारमा छोराबुहारी श्रीमती र नातानातिनी भए पनि सारंगी बजाएर गीत गाउन भने हिरालाललाई मात्र आउँछ । खानेमुख धेरै र कमाउने एक जना मात्र, त्यसमा पनि ५–६ महीनादेखिको लकडाउनले गर्दा हातमुख जोड्न गाह्रो भएपछि बाध्य भएर सारंगी बोकेर उनी गाउँ पसेका छन् ।
शहरी क्षेत्रमा प्रहरीले सारंगी बजाउन नदिने भएपछि आफू धनकुटा नगरपालिकाको विशेष गरेर ग्रामीण भेगमा सारंगी बजाउँदै परिवारको गुजारा चलाइरहेको उनी बताउँछन् । ‘पहिले पहिले लकडाउन नहुँदा दिनको ४–५ हजार आम्दानी हुन्थ्यो, अहिले लकडाउनले गर्दा आम्दानी छैन, पेट पाल्नकै लागि भए पनि गाउँघर छिर्नु मेरो वाध्यता हो ।’ उनले भने, ‘बजार क्षेत्रमा त प्रहरीले टिकि खान दिदैन नै कतिपय स्थानमा गाउँघरमा पनि गाउँलेले बचन लगाउने गरेका छन् ।’
रामनवमी मेला, मागी मेला, नयाँ वर्ष, हप्तै पटकको बिहीवार हाट लगायतका विभिन्न चाडपर्वको बेला राम्रै आम्दामी हुने गरेको थियो तर अब कोरोनाले गर्दा के हुने हो, आफ्नो परिवारको भविस्य नै अन्योल भएको हिरालाल बताउँछन् ।
त्यसका अलबा गाडी चल्दा भेडेटार, नमस्ते झरनामा गएर पनि राम्रै कमाई गरेर धनकुटा फर्कने गरेको तर अहिले त्यो ठाउँ नै बन्द भएकोले त्यता जानपनि टुटेको छ । अंग्रेजी नयाँ वर्षको दिन एकै दिनमा १० देखी १५ हजार कमाई गरेको पनि उनले सुनाए । तर अब त्यो दिन कहिले आउँला कि नआउँला भन्ने पनि लागेको छ, उनलाई ।