सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले नेपाल आयल निगमलाई तेल भण्डारण गृहका लागि जग्गा दिन सकिने बताएको छ । आयल निगमले जग्गा अभाव देखाउँदै तीन वर्षदेखि अलपत्र रहेको प्रादेशिक इन्धन भण्डारण निर्माण स्थल चौकुनेमा सुनिश्चित गरे आवश्यक जग्गा उपलब्ध गराइने सरोकारवालाले बताएका हुन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ गुटुका उपभोक्ताकर्मी काशीराम देवकोटाले प्रादेशिक इन्धन भण्डारण निर्माण आयोजना बनाउने सुनिश्चित भए आफूहरू जग्गा दिन तयार रहेको बताए । निगमलाई सदरमुकाम वीरेन्द्रनगरको भन्दा कम मूल्यमा इन्धन भण्डारण निर्माणका लागि चौकुनेको गुटुमा आवश्यक जग्गा उपलब्ध गराउन सबै सहमत भएको दाबी उनले गरे ।
‘कर्णाली प्रदेशमा इन्धन भण्डारण नहुँदा अहिले पनि अन्य प्रदेशको तुलनामा यहाँका उपभोक्ताले महँगोमा इन्धन खरीद गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पश्चिम सुर्खेतको गुटुमा प्रादेशिक इन्धन भण्डार निर्माण भएपछि उपभोक्तालाई कम्तीमा प्रतिलिटर ५० पैसा सस्तो पर्न जानेछ ।’
हाल पश्चिम सुर्खेतमा कतै पनि निगमको आधिकारिक विक्रेता नरहेकाले उपभोक्ताले महँगोमा इन्धन खरीद गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । प्रस्तावित चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याकसँगै मदन भण्डारी राजमार्गको केन्द्रबिन्दु रहेको गुटुमा निगमले तत्काल आफ्नै लगानीमा पेट्रोल पम्म निर्माण गरेर उपभोक्तालाई सहज इन्धन आपूर्ति व्यवस्था गर्नुपर्ने उनको माग छ ।
‘सुर्खेत सदरमुकामदेखि ६० किलोमिटर पश्चिममा पर्ने चौकुने गाउँपालिकाको गुटुस्थित लालझारी जंगल इन्धन भण्डारणका लागि उपयुक्त छ,’ उनले भने, ‘सदरमुकाम वीरेन्द्रनगरमा पर्याप्त जग्गा नपाउँदा ३ वर्षदेखि अलपत्र आयोजना सुचारु गर्न सकिन्छ । निगमले चौकुनेमा इन्धन भण्डारणका लागि आवश्यक प्रक्रिया शुरू गरोस् । जग्गा उपलब्ध गराउन स्थानीय सहमत छन् ।’ त्यसका लागि निगमलाई प्रादेशिक इन्धन भण्डारणको सम्भाव्यता अध्ययनमा पनि सघाउन आफूहरू तयार रहेको उनले जानकारी दिए ।
मदन भण्डारी राजमार्गसँगै सुर्खेत–बिजौरा ११ केभी विद्युत् प्रसारण लाइन निर्माण भइरहेकाले निगमको प्रादेशिक इन्धन भण्डारण बनाउन गुटु उपयुक्त स्थान हुन सक्ने चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । निगमले चौकुनेमा इन्धन भण्डारण बनाउन चाहे आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनको भनाइ छ ।
निगमका प्रतिनिधि दीपकप्रसाद घिमिरेले जग्गा अभावकै कारण प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए । संघीय सरकारको नीति, कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया शुरू हुन नसकेको उनको भनाइ छ । ‘निगमले गतवर्ष सुर्खेतको वीरेन्द्रनगर–११ स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिगाहा जग्गामा इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । उक्त जग्गा बस्तीदेखि टाढा भए पनि समथर नहुनुका साथै नदी किनारमा भएकाले भूक्षय तथा पहिरोको खतरा देखिएकाले विकल्प खोजी भइरहेको छ,’ उनले भने, ‘मुख्य कुरा जग्गाको टुंगो लाग्न सकेको छैन ।’
इन्धन भण्डारण गृहका लागि कम्तीमा १० देखि बढीमा २० बिगाहासम्म जग्गा चाहिने बताए । निगमले भविष्यमा नेपालगञ्ज समेतलाई आपूर्ति व्यवस्था मिलाउने गरी सुर्खेतमा जग्गा खोजी गरिरहेको उनले बताए । लालझारीमा इन्धन भण्डारण बनाउन उपयुक्त हुने÷नहुनेबारे निगमको केन्द्रलाई अध्ययनका लागि आग्रह गरिएको उनको भनाइ छ ।
सरकारले तीन वर्षअघि सबै प्रदेशमा कम्तीमा तीन महीनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने नीति ल्याएको थियो । कर्णालीमा डिजेल, पेट्रोलको भण्डार नहुँदा इन्धन आपूर्तिमा पटकपटक अभाव हुने गरेको छ ।