ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्टको भाउ ओरालोतिर

अवस्था सुधार नआए थप घट्न

२०७७ भदौ, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बन्दाबन्दीको पहिलो तीन महीनामा उकालो लागेको सिमेन्टको भाउ अहिले ओरालो लाग्न थालेको छ । पहिले प्रतिबोरा ७ सय ८० सम्म पुगेको सिमेन्टको भाउ अहिले ७ सय १० मा झरेको छ ।

कोरोना महामारीको कारण सिमेन्टको विक्री घट्नु, वर्षातको सिजन र क्लिंकरको मूल्य घटेको कारण सिमेन्टको भाउ घटेको हो । प्रतिमेट्रिक टन रू.११ हजार परिरहेको क्लिंकर अहिले मूल्य घटेर रू.१० हजारमा पूर्वका उद्योगमा आइरहेको छ । क्लिंकरमा प्रतिटन रू.१ हजार  सस्तो हुँदा सिमेन्टको भाउपनि झरेको अन्नपूर्ण सिमेन्ट उद्योगका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउतले बताए ।

उद्योग बन्द गर्नुभन्दा साँवा नै भए पनि आउँछ भन्ने सोचले सीमित क्षमतामा उद्योग सञ्चालन गरिरहेको उनले बताए । नेपालकै उत्पादन राम्रो भएकाले भारतबाट क्लिंकर आउन कमी भएको छ पहिलेको तुलनामा यसको मूल्यमा कमी आएको उनको भनाइ छ ।

अर्घाखाँची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले उद्योग सञ्चालन गर्नुभन्दा बन्द गर्न उपयुक्त भए पनि विद्युत्, श्रमिक र कर्मचारीको तलब दिनैपर्ने भएकाले सामान्य उत्पादन गरेर उद्योग सञ्चालन गरिरहेको बताए । मुलुकका सानादेखि ठूला आयोजनाको समेत निर्माण कोरोना महामारीका कारण अहिले ठप्पप्रायः रहँदा सिमेन्टको आन्तरिक खपत खस्किएर मूल्य घटेको उनको भनाइ छ । सिमेन्ट नै विक्री नहुने अवस्था आएपछि लगानी मात्र उठाउन भए पनि भाउ घटाएर सिमेन्ट विक्री गर्न उद्योगीहरू बाध्य भएका हुन् ।

नेपालमा सिमेन्टको वार्षिक खपत ८० लाख टन रहेको र त्यो खपत बराबरको सिमेन्ट नेपाली उद्योगले नै उत्पादन गरिरहेकाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको मुरारकाले बताए । क्लिंकरमा नेपाली उद्योगहरू सक्षम रहेकाले अहिले भारतबाट क्लिंकरको आयात १० प्रतिशतमा सीमित भएको जानकारी उनले दिए । ‘अहिले आम सर्वसाधरण दाल चामलको जोहोमा लागेकाले निर्माणको काम ठप्प छ,’ उनले भने, ‘अवस्था सुधार नआए उद्योगको भविष्य राम्रो छैन ।’

पहिलो लकडाउनको बेला निर्माण कार्य नरोकिए पनि अहिले निषेधाज्ञाको कारण निर्माणको काम बढी हुने शहरी क्षेत्र पूर्ण बन्द रहेकाले सिमेन्टको खपत घटेको हो । अफ सिजन भएको, बजारमा माग घटेकाले सिमेन्टको मूल्य घटेको बन्धन सिमेन्टका सञ्चालक बन्धन सिमेन्टका सञ्चालक मनीष मारूले बताए ।

प्रदेश नम्बर १ का उद्योगहरूको बजारका रूपमा रहेको पूर्वका बजारमा वीरंगज, हेटौंडासम्मका उद्योगका पनि उत्पादन प्रदेश १ लाई नै लक्षित गरी आइरहेकाले प्रतिस्पर्धा बढेकाले सिमेन्टको भाउ घटेको निकर्ष उद्योगीको छ । प्रदेश १ का झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १ र उदयपुरमा सरकारी स्वाभित्वको सिमेन्ट उद्योग गरी १४ ओटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

नेपालभर ६३ सिमेन्ट उद्योग छन्, जसमा करिब ४ खर्बको लगानी रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राउतका अनुसार २१ ओटा सिमेन्ट उद्योगका आफ्नै चुनढुंगाको खानी छ भने बाँकी ४२ ओटा सिमेन्ट उद्योगले अन्य उद्योग (नेपाल र भारतका)को क्लिंकर प्रयोग गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)