धनकुटा । जिल्लामा कोरोना संक्रमितहरूहरूको उपचारका लागि आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा २० शøयाको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो । उक्त स्थानमा यसअघि धनकुटा नगरपालिकाले क्वारेन्टिन सञ्चालन गरेको थियो ।
हाल औद्योगिक ग्राममा रहेका केही भवनमा क्वारेन्टिन र केही भवनमा आइसोलेसन सञ्चालन गरिएको हो । आइसोलेसन कक्ष निर्माण भएसँगै शनिवार संक्रमण पुष्टि भएका १९ जनालाई धनकुटामै राखेर उपचार थालिएको छ । यसअघि धनकुटामा भेटिएका कोरोना संक्रमितलाई उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा पठाउने गरिएको थियो ।
सरकारले धनकुटामा ४ ओटा भेन्टिलेटर, ६ शय्याको आईसीयू कक्षसहितको ४० शøयाको आइसोलेसन निर्माण गर्न रू. २ करोड बजेट उपलब्ध गराएको छ । ४ ओटा भेन्टिलेटर, ६ शøयाको आईसीयू कक्षसहितको ४० शय्याको आइसोलेसन कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोषमार्फत बजेटको सिलिङ पठाएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले बताए ।
संघीय सरकारले कोरोना संक्रमितहरूलाई उपचार गर्न र कोरोनाको नियन्त्रण गर्न आइसोलेसन सेन्टर तथा भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण गर्न बजेट पठाएको हो । उनले धनकुटामा हाल २० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको भए पनि चाँडै ४० शøयामा विस्तार गरिने उनले बताए ।
यस्तै आइसोलेसना सञ्चालनमा आएपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले कम्बल ३० थान, बिर्कोसहितको प्लास्टिक बाल्टिन १० थान, प्लास्टिक जग ८ थान, स्ट्रेचर १ थान, नुहाउने साबुन ७ दर्जन सहयोग गरेको छ ।
पीसीआर मेशिन पनि धनकुटामै
धनकुटा जिल्ला अस्पतालमा स्वाबको नमूनाबाट गरिने पीसीआर परीक्षण पनि धनकुटामै हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईंका अनुसार संघीय सरकारले पीसीआर परीक्षण मेशिन खरीद गर्न रू. १ करोड बजेट पठाएको छ । कोरोना परीक्षणको दायरा बढाउन संघीय सरकारले पीसीआर परीक्षण मेशिन जडान गर्न बजेट निकासा गरेको हो । बढीमा २ महीनामा धनकुटामा पीसीआर परीक्षण मेशिन जडान हुने बताइएको छ ।
यस्तै प्रदेश १ का सरकारले पनि धनकुटा र पाँचथरमा पीसीआर परीक्षण मेशिन जडान अन्तिम चरणमा रहेको जनाएको छ । प्रदेश सरकारले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पतालपछि अब धनकुटा र पाँचथरमा पीसीआर परीक्षण मेशिन राख्न लागेको हो ।