ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निःशुल्क डायलासिसको औषधि महँगोमा किन्दै बिरामी

२०७७ भदौ, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निःशुल्क औषधिसहितको डायलासिस सेवा प्रदान गरेको छ । तर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा लिन आएका बिरामीले भने बाहिरबाट महँगो मूल्य तिरेर औषधि खरीद गर्न परिरहेको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण रोजीरोटी नै गुमेको अवस्थामा नियमित डायलासिस गराउँदै आएका बिरामीका परिवारलाई औषधि खरीद गर्न पर्ने बाध्यताले थप समस्यामा पारेको छ । सरकारले डायलासिसका लागि आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराउने बताए पनि प्रतिष्ठानमा डायलासिस गराउन आएका बिरामीले आफै औषधि खरीद गरेर सेवा लिन बाध्य छन् ।

७ वर्ष अघिदेखि हप्ताको २ पटक डायलासिस गराउँदै आएका झापाको कन्काई नगरपालिका–४ का मानबहादुर बजगाईंले भने, ‘प्रतिष्ठानले निःशुल्कको पत्र समाउँछ, तर डायलासिसको सामान किनाउने, सामान नदिने प्रवृत्ति चाहिँ पहिले देखि नै रहेको छ’, उनले भने, ‘अहिले बन्दाबन्दीको बहाना देखाउँदै सामान नै छैन भन्छन्, बस्न खान ल्याएको पैसा औषधिमा खर्च गर्न परिरहेको छ ।’ बन्दाबन्दीको समयमा एक जना बिरामीले करीब रू. २० देखि रू. २२ हजारसम्म खर्च गरिसकेको उनको भनाइ छ ।

प्रतिष्ठानबाट मिर्गौला खराब भएका बिरामीलाई दिइने सेवा प्रभावकारी नभएको गुनासो पनि उनले गरेका छन् । ‘पालो पाउनै मुस्किल छ, इमर्जेन्सीबाट आउनुपर्छ’, उनले भने, ‘सरकारले दीर्घ रोगीहरूको निःशुल्क पीसीआर परीक्षण गराउनु भने पनि अहिलेसम्म कसैको त्यो सुविधा पाएका छैनन् ।’ बन्दाबन्दीका कारण प्रतिष्ठानमै बसेर डायलासिस गराउन बाध्य बनेका बिरामीहरूमा थप औषधि किन्न पर्ने बाध्यताले थप समस्यामा परेको उनको भनाइ छ ।

बन्दाबन्दीका कारण आर्थिक अवस्था कमजोर हुँदै गएको छ भने सरकारले उपलब्ध गराएको औषधि पनि पाउन नसकेपछि लक्षित वर्ग थप पीडित बनेका छन् । प्रतिष्ठानमा दैनिक २५ जनाले डायलासिस सेवा लिँदै आएको हस्पतालको भनाइ छ ।

डायलासिस गराइरहेका बिरमीहरूको स्वास्थ्य समस्या माथि प्रतिष्ठानले खेलभाड गरेको मोरङ केराबारीका विशाल तामाङ बताउँछन् । उनका आफन्तलाई हप्तामा दुई पटक डायलासिस गराउनु पर्ने भए पछि उनीहरू बन्दाबन्दी शुरू भएदेखि नै प्रतिष्ठानमै बस्दै आएका छन् । उनले भने, ‘इमर्जेन्सीबाट डायलासिस गराउन ल्याउन पर्छ, भनेको समयमा औषधि पाइँदैन, निजी फार्मेसीबाट महँगो शुल्क तिरेर औषधि ल्याउनु पर्ने बाध्यता हामीलाई रहेको छ ।’

कोरोना महामारीले आम नागरिकहरू प्रताडित भइरहेको अवस्थामा राज्यको सुविधा पनि उपभोग गर्न नपाउँदा बिरामीहरू झनै समस्यामा पर्दै गएका छन् । निःशुल्क स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई कार्यान्वयन गर्न सम्बन्धित निकायहरूको ध्यान पुग्न जरुरी छ ।

तर, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा भने पछिल्लो समस्याबारे आफूले केही जानकारी नपाएको बताउँछन् । उनले २ महीनाअघि बन्दाबन्दीका कारण केही टेन्डर आह्वान गरेको खरीद प्रक्रियामा समस्या देखिए पनि समाधान भइसकेको अवस्था रहेको जानकारी दिँदै पछिल्लो समय बन्दाबन्दीकै कारण पनि केही समस्या आउन सक्ने जिकिर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)