भदौ १५, धनकुटा । धनकुटामा सोमवारबाट निषेधाज्ञामा थप कडाई गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सोमवारदेखि बुधवार राति १२ बजेसम्म निषेधाज्ञा कडाई गर्ने स्थानीय प्रशासनले निर्णय गरेको हो । निषेधाज्ञा कडाई गरेसँगै बजारमा हिंडडुल गर्न र सवारी चलाउन बन्देज गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो । शनिवार धनकुटामा एकैदिन अहिलेसम्मकै बढी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा १३ जना प्रहरी, टेलिकमका कर्मचारी ४ जना, बैंकका कर्मचारी १ जना र व्यापारी १ जना रहेका छन् । कोरोना संक्रमण थप फैलन नदिन निषेधाज्ञा कडाई गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए ।
निषेधाज्ञा कडाई गरिएसँगै बजार पसल खुल्ने समय परिवर्तन गरिएको छ । सोमवारबाट बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पसल मात्र खुला गर्न दिन थालिएको छ ।
यसअघि धनकुटामा बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सम्पूर्ण पसल खुला हुँदै आएका थिए । यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुले सकेसम्म अनलाईन प्रणालीबाट काम गर्ने तथा अनलाइनबाट सम्भव नहुने सरकारी कार्यालयका अत्यावश्यक काम ५० प्रतिशत कर्मचारी उपस्थित भएर मात्र कार्यालयबाट गर्न थालिएको प्रमुख जिल्ला अधिकारी बिमलीले जानकारी दिए ।
यता कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले भदौ २० गते दिउँसो १२ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको सोमवार बसेको बैठकले यसअघि भदौ १० गते दिउँसो १२ बजेदेखि भदौ १६ गते दिउँसो १२ बजेसम्मका लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरेको भएपनि त्यसलाई भदौ २० गते दिउँसो १२ बजेसम्म लम्ब्याइएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।
कोरोना संक्रमण भएका जिल्लाहरुबाट खाद्यान्न लगायतका सामग्रीहरु ढुवानी गर्न गाउँपालिकाको अनुमतिबिना विभिन्न सवारीसाधनहरु गाउँपालिका प्रवेश गर्ने गरेका कारणले कोरोना भाइरसको उच्च जोखिम बढ्ने देखिएकाले सवारीसाधन प्रवेशमा निषेधको समयावधि थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले बताए ।
उनले कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको बैठकले भदौ २० गते दिउँसो १२ बजेसम्म गाउँपालिकाको केन्द्र राजारानी बजारमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सहकारी र निजी व्यवसाय बन्द गर्ने निर्णय पनि गरेको जानकारी दिए ।