ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरान कोरोना संक्रमणको उच्च जोखिममा : मृत्युदर २.९ प्रतिशत पुग्यो

२०७७ भदौ, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

भदौ १६, धरान । समुदायको लापरवाहीका कारण धरान कोरोना संक्रमणको उच्च जोखिमतर्फ अघि बढ्दै गएको छ । नगरपालिकाले लकडाउन घोषणा गरेपनि समुदायले सुरक्षा सतर्कता नपनाउँदा जिल्लाकै धेरै कोरोना संक्रमण रहेको नगर बनेको छ । 

पहिलो चरणको लकडाउन खुकुलो भएपछि धरानमा फैलिएको कोरोना संक्रमणले मंगलवार बिहानसम्ममा ६ जनाको ज्यान लिइसकेको छ भने १७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

वडा नम्बर २० बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । मृत्यु हुनेहरुमा वडा नम्बर १५ मा दुई जना, १७ मा एकै परिवारका दुई जना, वडा ८ र ११ मा १/१ जना रहेका छन् । 

कोरोना संक्रमणबाट नेपालको मृत्युदर शून्य दशमलव १ प्रतिशत हुँदा धरानको मृत्युदर २ दशमलव ९ प्रतिशत पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

उनले भने, ‘नेपालमा कुल कोरोना संक्रमितको संख्याको आधारमा मृत्युदर करीब शून्य दशमलव १ प्रतिशत रहेको छ, धरानमा कोरोना संक्रमितको संख्याको आधारमा मृत्युदर २ दशमलव ९ प्रतिशत पुगेको छ ।’ धरानमा दैनिक जसो ८ जनामा कोरोना संक्रमण देखिन थालेको उनको भनाइ छ । विश्वका अन्य मुलुकमा देखिएको कोरोनाको संक्रमण र मृत्युदर ३ देखि ७ प्रतिशतसम्म पुगेका छन्, धरानमा २ दशमलव ९ प्रतिशत उच्चदर रहेको उनले बताए । 

कोरोना संक्रमण बढ्न थालेपछि धरानमा साउन २२ देखि दोस्रो चरणको लकडाउन घोषणा भए पनि समुदायको लापरवाहीकै कारण जिल्लाकै उच्च जोखिममा रहेको नगर बनेको छ ।

तरकारी बजार र खाद्यान्न पसलहरुमा सामान खरीद गर्न आउने मानिसहरुले सुरक्षा नपनाएको मेहेताले बताए । उनले भने, ‘बजार खुल्ने समयदेखि बाहेकका समयमा पनि एकै परिवारका धेरै सदस्यहरु बाहिर निस्कने, मास्क नलगाउने, सुरक्षा नपनाउने गरेको भेटिएको छ ।’ 

समुदायमा कसरी कोरोना संक्रमण फैलियो भन्ने अझै पनि पुष्टि हुन सकेको छैन । मेहेताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहितको टोलिले अध्ययन गर्न थालिसकेको छ । केही दिन भित्रै प्रतिवेदन सार्वजनिक हुने उनले बताए । 

ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिएपछि अहिले नगर नै त्रसित बनेको छ । धरानमा बढ्दै गएको कोरोना संक्रमणलाई न्यूनीकरण गर्न समुदाय नै सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाव छ । 

लकडाउन घोषणा गरिएको भए पनि अहिले धरानमा लकडाउन जस्तो अवस्था पटक्कै छैन । पछिल्लो समयमा आएर त धरानको मुख्य बजार क्षेत्रकै पसलहरू खुल्न थालेका छन् । बढ्दै गएको संक्रमणलाई न्यूनीकरण गर्न लकडाउनलाई कडा पार्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

नन्द कुमार राई

[Sep 3, 2020 12:24am]

शमुदायकाे दायरामा प्रसासन चल्ने हाेइन,शमुदायलाईचहि प्रसाशनकाे दायराभित्र ल्याउनु पर्याे।किन असफल?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)