ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सञ्चालन नहुँदै भत्किन थाल्यो सिटी बसपार्कको कालोपत्र

२०७७ भदौ, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । वीरेन्द्रनगर सिटी बसपार्क सञ्चालन नहुँदै भत्किएको छ । २०७३ सालदेखि निर्माण शुरू गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै कालोपत्र भत्किन थालेको हो ।  

‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा । कालोपत्रभन्दा माथि दुबो उम्रिएको छ,’ स्थानीय उपभोक्ता हिम्मत शाहीले भने, ‘ठाउँठाउँमा कालोपत्र उप्किसकेको छ ।’ बसपार्कको कालोपत्र गरिएको स्थानमा दुबो उम्रिनुको कारण कमसल सामग्री प्रयोग भएको उनले बताए । निर्माण ठेकेदार र नगरपालिकाको मिलेमतोमा यस्तो कमजोर निर्माण गरिएको उनको आरोप छ । नगरपालिकाले जिम्मा लिने समयमा कामको गुणस्तर जाँच नगर्न यस्तो स्थिति आएको उनको भनाइ छ ।

वीरेन्द्रनगर–६ का राकेश पौडेलले सिटी बसपार्क निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएकाले निर्माणमा संलग्नमाथि छानविन गरेर पैसा असुल उपर गर्नुपर्ने बताए । १५ महीनामा निर्माण कार्य सम्पन्न गर्नेगरी २०७३ सालदेखि थालिएको बसपार्क निर्माण २ पटक म्याद थप गरी सम्पन्न भएको हो । २०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नेगरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो । निर्माण कम्पनीले नगरपालिकालाई २०७६ कात्तिकमै बसपार्क हस्तान्तरण गरिसकेको छ । ६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी सम्झौता भएकोमा निर्माणमा ढिलाइ हुँदा ६२ लाख बढी खर्च भएको थियो । ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको हो ।

नगर विकास कोषको ऋण अनुदानमा निर्माण गरिएको नयाँ बसपार्कमा यात्रुलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय र दुईओटा प्रवशेद्वारा छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले गाडी नचलेकाले दुबो उम्रिएको बताए । ठेकेदारले बसपार्क हस्तान्तरण गरेको १ वर्षभन्दा बढी भइसकेको भन्दै उनले मर्मत गरेर सञ्चालनमा ल्याइने जानकारी दिए । कोरोना सन्त्रासले ढिलाइ भए पनि बसपार्क सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)