ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित : वार्षिक १७ करोडको निकासी

२०७७ भदौ, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

भदौ १७, सल्यान । सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका यहाँका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ लागेका हुन् । 

टिमुर, रिठ्ठा, तेजपात घोडाताप्रेलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेती गर्न थालेका छन् । 

प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले आफ्नो वडाका करीब २०० घरपरिवारले टिमुरखेती गर्दै आएको बताए । 

बिगतमा घरायसी प्रयोगका लागि मात्रै टिमुरखेती गरिने भएपनि अहिले भने व्यवसायिक रुपमा नै टिमुर खेती गर्दै आएको उनको भनाइ छ । 

उनले यस वडाबाट मात्रै वार्षिक करीब ८० लाख बढीको टिमुर विक्री हुने गरेको जानकारी दिए । ‘यहाँका स्थानीयले व्यवसायिक टिमुर खेती गर्न थालेका छन्, पहिले टिमुरले मूल्य पाउदैनथ्यो, अहिले बजार भाउ राम्रो पाउन थालेपछि स्थानीय यसतर्फ आकर्षित भएका छन्, प्रति परिवारले वार्षिक ३० हजारदेखि २ लाखसम्म टिमुर खेतीबाट आम्दानी गर्छन्’ उनले भने ।

डिभिजन वन कार्यालय सल्यानले जिल्ला जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको बताएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ । 

टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा, घोडाताप्रेलगायत बहुमूल्य जडिबुटी जिल्लाबाट अन्यत्र पठाइएको छ । डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जिल्लामा ३ लाख ६४ हजार ४०० किलो बहुमूल्य जडिबुटी उत्पादन हुँदा १८ लाख ५१ हजार ९०० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । 

उनले भने ‘जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको छ । जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुन्छ ।’ कार्यालयका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वनमा ९५ हजार किलो र निजी आवादमा २ लाख ६७ हजार ४०० किलो टिमुर उत्पादन भएको थियो । 

यस्तै, राष्ट्रिय वनबाट रिठ्ठा १ लाख ८९ हजार किलो, घोडाताप्रे १ हजार ५०० किलो, दालचिनीको बोक्रा, ५०० किलो र पाखनवेद ८ हजार ५०० किलो संकलन भएको थियो । 

यसैगरी चुत्रोको बोक्रा १४ हजार ८०० किलो, तेजपात ६१ हजार ५०० किलो, बज्रदन्ती ५०० किलो र गोकुलधुप ५०० किलो संकलन भएको थियो । जिल्लाबाट गत वर्षमा टिमुर मात्रै करीब १६ करोड रुपैँया बढीको निर्यात भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)