ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरले थलिंदै कर्णाली : एक लाखभन्दा बढी नागरिक बेरोजगार

रोगभन्दा भोकमरीकै चिन्ता 

२०७७ भदौ, २०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

भदौं, २०, सुर्खेत । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विगत छ महीनादेखि लकडाउनले कर्णालीका १ लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाएका छन् ।

कर्णालीका विभिन्न ४२ हजार प्रतिष्ठानमा रोजगारी पाएका १ लाख १८ हजार ९५१ जना श्रमिकको रोजगारी गुमेको तथ्यांक कार्यालयले बताएको छ । जसमा पुरुष ६० प्रतिशत रहेका छन् भने महिला ४० प्रतिशत रहेका छन् ।

लकडाउनले गर्दा कृषि, पर्यटन, होटल व्यवसाय, खानीजन्य उद्योग, जलविद्युत् परियोजनादेखि लिएर साना उद्योग कलकारखाना सबै बन्द भएपछि १ लाख श्रमिक विगत ६ महीनादेखि रोजगार विहिन भएको तथ्यांक अधिकृत शंकर भट्ले बताए । उनले कर्णालीका १० ओटै जिल्लाका गरी ४२ हजार ८०७ ओटा आर्थिक प्रतिष्ठानमा कार्यरत एक लाख बढी श्रमिकले रोजगार गुमाएको बताए ।

उनका अनुसार जारी लकडाउन, निषेधाज्ञा र कोरोना सन्त्रासले गर्दा कर्णालीमा औद्योगिक गणना पनि हुन सकेको छैन ।कर्णालीका धेरै नागरिकको छ महीनादेखि आम्दानीको स्रोत गुमेको छ । उनीहरुमध्ये अधिकांश कोरोना महामारीअघि भारतका विभिन्न गल्लीहरुमा पसिना बगाउँथे । 

‘आलु, स्याउ स्टोर र विभिन्न खाद्यान्न गोदाममा मजदूरी गर्थे, जेनतेन मासिक रू.२० देखि २५ हजार आम्दानी हुनथ्यो,’ दैलेख गुराँसका रवि  विकले भने, ‘त्यही पैसाले घरखर्च चलेको थियो । भाइबहिनी र घरपरिवारको सम्पूर्ण खर्च म एक्लैले धानेको थिंए । तर कोरोना महामारीसँगै भारतमा लकडाउन शुरु भयो । काम नभएपछि स्वदेश फर्किन बाध्य भएर अहिले बेरोजगार भएको छु ।’ 

उनले गाउँ फर्किएदेखि एक रुपैयाँ आम्दानी नभएको पनि बताए । बेरोगारीमा अहिले घरखर्च चलाउन धौ–धौ भइरहेको उनको भनाइ छ । कोरोना महामारीका कारण भारत जान नसकिने र गाउँमा पनि रोजगारी नभएपछि उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

‘घरमा काम छैन, गाउँमा रोजगारी पाइँदैन, आजभोलि त दिन कटाउनै गाह्रो हुन थाल्यो,’ उनले भने, ‘कोरोना कहिले सकिएला र भारत जान पाइएला ।’ 

यसअघि भारतबाट फर्कंदा रू.५०–६० हजार लिएर आउने उनी यो वर्ष रित्तो हात फर्किए । भारतमा मजदूरी गरेर घरखर्च चलाउने उनी पनि कोरोनाको महामारीसँगै नेपाल फर्किएका हुन् ।‘कोरोना महामारीका कारण भारतमा पनि काम ठप्प भयो, संक्रमित थपिँदै गए । बरु गाउँमै केही गरौंला भनेर फर्किएँ,’ सुर्खेत चौकुने गाउँपालिकाका हरिलाल बुढाले भने, ‘आम्दानीको अर्को उपाय भेटिएन, बेखर्ची बनेर बस्नु परेको छ ।’ 

रवि र हरिलाल मात्रै होइन, कोरोना भाइरसको महामारीपछि कर्णाली प्रदेशमा १ लाखभन्दा बढीले रोजगारी गुमाएका छन् । यसमा सबैभन्दा बढी भारतमा दैनिक ज्याला–मजदूरी गर्ने छन् । कर्णाली प्रदेशका युवायुवतीको रोजगारीको मुख्य गन्तव्य भारतबाट कोरोनापछि झण्डै ७० प्रतिशत नेपाली गाउँ फर्किएका छन् ।

कोरोना महामारीका कारण स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि कम छैन । लकडाउनका कारण होटल व्यवसाय, उद्योगधन्दा र स्कुल–कलेज बन्द छन् । निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदूरको रोजगारी कोरोनाले खोसिदिएको छ । 

कर्णालीका निजी तथा आवासीय विद्यालयमा कार्यरत साढे ५ हजार शिक्षक–कर्मचारीको रोजगारी पनि संकटमा परेको छ । कर्णाली प्रदेशका ३८० ओटा संस्थागत विद्यालयमा झण्डै साढे ५ हजार शिक्षक कर्मचारी कार्यरत छन् । कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको यहाँका व्यवसायीको भनाइ छ ।

लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । बाँकी २० प्रतिशत श्रमिकले पनि आंशिक रुपमा मात्रै रोजागरी जोगाएका छन् । 

बन्दका कारण उद्योग–व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन । होटल व्यवसायका मात्रै झण्डै ५ हजार श्रमिकको रोजगारी संकटमा परेको अनुमान छ ।

यता कर्णाली प्रदेश सरकारले भने कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजागरी गुमाएका झण्डै १ लाख ५० हजार नागरिकलाई रोजगारी दिने लक्ष्य लिएको बताइरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने कर्णाली प्रदेश सरकारले लक्ष्य छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका अनुसार चालू आर्थिक झण्डै डेढ लाखलाई युवालाई रोजगारी दिने लक्ष्य छ । यसका लागि रू. १ करोड मुनिका विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने प्रदेश सरकारको तयारी छ ।

‘भोकमरी निर्मुल र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्,’ उनले भने, ‘कृषि र विकासका क्षेत्रमा १ लाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)