धनकुटा । धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का नेतृत्वकर्ताहरू नै होम क्वारेन्टिनमा बसेका छन् । गएको शनिवार जिल्ला अस्पताल धनकुटालाई १०० शय्याको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएपछि धनकुटाका सांसददेखि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का नेतृत्वकर्ताहरू नै होम क्वारेन्टिनमा बसेका हुन् ।
नेतृत्वकर्ता नै होम क्वारेन्टिनमा पुगेपछि कोभिड नियन्त्रणमा समस्या हुने देखिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका नेतृत्वकर्ताहरू होम क्वारेन्टिनमा बसे पनि कामकाजमा भने कुनै समस्या नरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए । उनले भेटघाट तथा बैठक नभए पनि प्रविधि प्रयोग गरेर काम गरिरहेको बताए ।
होम क्वारेन्टिनमा रहनेहरूमा धनकुटाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरू, जिल्ला समन्वय समितिका जनप्रतिनिधि, धनकुटा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरू, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरू, राजनीतिक दलका स्थानीय नेताहरू, जिल्ला अस्पतालका डाक्टरहरू र केही पत्रकारसहित २० जना जना भन्दा बढी छन् । क्वारेन्टिनमा बसेका सबै मन्त्री सहभागी कार्यक्रममा सहभागी भएकाहरू हुन् ।
पछिल्लो पटक भीआईपीहरूबाटै कोरोना संक्रमण फैलिन सक्ने देखिएपछि धनकुटामा त्रासको वातावरण सृजना भएको छ । विभिन्न पदधारी व्यक्तिहरूलाई बन्दाबन्दी र निषेधाज्ञालगायत प्रतिबन्धले नछोएपछि समस्या उत्पन्न भएको हो । यसले सामाजिक रूपमा समेत कोरोना संक्रमण फैलिएको आशंकामा स्थानीयहरू त्रसित बनेका छन् ।
यस्तै मन्त्री सहभागी कार्यक्रमदेखि स्थलगत अनुगमनका क्रममा मन्त्रीसँग सम्पर्कमा आएका ३७ जनाको शुक्रवार स्वाव संकलन गरिएको छ । गएको शनिवार धनकुटा आएका मन्त्री घिमिरेलाई विराटनगर फर्किएलगत्तै पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनलाइ झाडापखाला र ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो ।
यस्तै धनकुटामा हालसम्म ४० जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २० जना उपचारत छन् भने २० जना उपचारपछि घर फर्किसकेका छन् ।