भदौ २२, धनकुटा । कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा २६ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले सीमा नाकामा कडाई गर्दै मंगलवारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेको जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।
उनले भने, ‘प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको हो ।’ बैठकले कोरोना भाइरसको शुरुदेखिको अवस्थालाई समीक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केहि सहज बन्दै गएकाले सर्वसाधरणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको उनले बताए ।
प्रशासनले धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते संक्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ ओटा वडामा निषेधाज्ञा जारी गरेको थियो । यस्तै गत भदौ ३ गते शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासनले भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा थप गरेको थियो ।
यता जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा संक्रमण फैलिन नदिन प्रशासनले पुनः भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो ।
गत भदौ १३ गते धनकुटामा एकैपटक १९ जनामा कोरोना संक्रमण तथा सोही दिन धनकुटा आएका प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा भदौ २२ गते राति १२ बजेसम्म लम्ब्याएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सम्पर्कमा रहेका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा समेत कुनै लक्षण देखा नपरेको र पीसीआर रिपोर्टसमेत नेगेटिभ आएपछि निषेधाज्ञा खकुलो बनाएको सहायक प्रजिअ श्रेष्ठले बताए ।
निषेधाज्ञा हटेपनि सरकारले प्रतिबन्ध गरेको होटल, रेष्टुँरा, सैलुन, ब्यूटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पूर्ववत् अवस्थामै रोक लगाउने निर्णय भएको उनले बताए । यसका साथै खाद्यान्न र अतिआवश्यक सवारीसाधन बाहेकका सवारीलाई जिल्ला बाहिर आउँजाउँमा रोक लगाउने निर्णय भएको छ ।
जिल्लामा हालसम्म ४० जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये २० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी २० जना उपचारपछि घर फर्किएका स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।