ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको मासु व्यवसायमा ४० प्रतिशत ह्रास

२०७७ भदौ, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । करीब ७ महीनादेखिको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण धरानको मासु व्यवसायमा ४० प्रतिशतले ह्रास आएको छ । विशेषगरी धरानको चर्चित कालो बंगुरको मासुलगायत खसीबोका र कुखुराको मासुको व्यापारमा ह्रास आएको छ ।

शुरूको बन्दाबन्दीको घोषणा गरेसँगै मासु पसलहरू पूर्णरूपमा बन्द थिए । पहिलो बन्दाबन्दीमा शतप्रतिशत नै मासुको व्यापार व्यवसाय ठप्प रहेको धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङ बताउँछन् । उनका अनुसार चैत ११ गतेदेखि जेठको अन्तिमसम्ममा मासु व्यवसायीले स्टक राखेको मासु विक्री नहुँदा करीब रू. ३ करोड भन्दा बढीको क्षति भएको छ ।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी ग¥यो, तर स्थानीय तहको समन्वयमा धरानको व्यापार व्यापारको मोडालिटी केही परिवर्तन भएपछि मासु व्यवसायीहरूका राहत मिलेको थियो । असार पहिलो सातादेखि धरानमा बन्दाबन्दी खुकुलो बनाउँदै बिहान १० बजेसम्म व्यापार व्यवसाय खुल्न छूट दिएपछि ६० प्रतिशत व्यापार हुन थालेको उनको भनाइ छ ।

धरानमा करीब ३०० भन्दा बढी मासु व्यवसायीहरू छन् । धरान देशकै सबैभन्दा बढी मासु खपत हुने स्थानीय तह हो भने शहरका हिसाबले काठमाडौं, पोखरापछि तेस्रो नम्बरमा धरान पर्दछ । यहाँ दैनिक १२ हजार ६०० केजी मासु खपत हुने गरेको छ । तामाङका अनुसार बन्दाबन्दी खुकुलो भएपछि ६० प्रतिशत कारोबार हुँदा दैनिक ५ हजार किलो मासुको कारोबारमा कमी आएको छ । करीब २०० को हाराहारीमा मात्रै मासुका पसलहरू खुलेका छन् ।

धरानमै मासुजन्य पशुहरूको उत्पादन कमी हुन थालेपछि बाहिरबाट निर्यात गर्न नसक्दा सबै पसलहरू खुल्न नसकेको उनको भनाइ छ । सवारीसाधनहरू पनि बन्द हुँदा धरान नजिकका क्षेत्रबाट समेत मासुजन्य पशुहरू ल्याउन नसकिएको उनले बताए । उनले भने, ‘धरानमा उत्पादन भएकाहरू सकिन थालिसक्यो, अब बाहिरबाट ल्याउन पाइँदैन, कसरी व्यापार गर्ने त ?’

बन्दाबन्दीका कारण धरान हुँदै देशका अन्य क्षेत्रहरूमा निर्यात हुने मासुजन्य पशुको व्यापार पनि खस्किएको छ । तामाङले भने, ‘दैनिक जसो ४ ट्रकसम्म मासुजन्य पशुहरू काठमाडौं र पोखरालगायत शहरहरूमा जान्थे, अहिले ठप्प भएको छ, कहिलेकाहीँ १÷२ ओटा ट्रकहरू जाने गरेका छन् ।’ बन्दाबन्दीका कारण यतायात सञ्चालन नहुँदा नेपाली बजारमा चर्चित धराने कालो बंगुर र खसीबोकाको निर्यात पनि ठप्प भएकाले व्यवसायमा ठूलो घाटा भएको स्थानीय व्यवसायीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)