भदौ ३०, रुकुम । दुर्गम गाउँमा डाक्टर नटिक्ने पुरानै समस्या हो । रुकुम जिल्ला अस्पतालले पनि त्यस्तै समस्या बेहोर्दै आएको छ । एकातिर दरबन्दी अनुसारको डाक्टर नहुनु र अर्कोतर्फ पदाअवधि नसकिँदै डाक्टर सरुवा हुनाले बिरामीहरूलाई थप समस्या बनाएको छ । जिल्ला अस्पतालको रेकर्ड हेर्दा ६ महिनादेखि डेढ वर्षकै बीचमा डाक्टरहरू सरुवा हुने गरेका छन् ।
बाँफीकोट गाउँपालिका–४, रुकुम पश्चिम कि ३२ वर्षीय ललिता चन्द गत साउन २ गते जिल्ला अस्पताल रुकुम पश्चिममा पुगिन् । अन्तिम पटक सुत्केरी चेकजाँच गर्न उनी जिल्ला अस्पताल पुगेकी हुन् । अस्पतालमा चेकजाँच गर्दा आमा र बच्चाको अवस्था सामान्य रहेको र ५ गते अन्तिम (डेट) मिति दिएपछि उनी गाउँ फर्किन् ।
३ गते रातिबाट नै उनलाई सामान्य व्यथा लागेपछि ४ गत विहान परिवारजनले गाडी रिजर्भ गरी जिल्ला अस्पताल पु¥याए । जिल्ला अस्पताल रुकुमले उनीलाई त्यहाँ उपचार गर्न मानेन । बरु रिफर चौरजहारी मिसन अस्पतालमा रिफर गरियो । लामो व्यथाको कारण अवस्था जटिल बनेपछि अप्रेशन गर्दा आमाको ज्यान त बल्लतल्ल जोगियो तर बच्चा भने बाँच्न सकेन ।
गत जेठ २८ गते मुसीकोट नगरपालिकी १ खलंगाकी माया गिरी गर्भजाँच गर्न जिल्ला अस्पतालमा पुगिन । त्यहाँ उनलाई भिडियो एक्सरे (अल्ट्रासाउण्ड)का साथै चेकजाँच गर्दा सामान्य अवस्था भन्दै असार ४ गतेलाई मिती दिएर फर्काइयो । ४ गते जिल्ला अस्पताल रुकुम पश्चिममा पुग्दा त्यहाँ उपचार हुन नसक्ने भन्दै चौरजहारी अस्पतालमै पठायो । झण्डै २० हजार (आतेजाते) भाडा तिरेर उनी चौरजहारी अस्पताल पुगिन् । चौरजहारीमा उनको विना अपरेशन नै सहजै बच्चा जन्मियो ।
बाँफीकोट गाउँपालिका–३, कै गर्भवती दिलमाया बुढाथोकी आठ महिनामै अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल रुकुममा पुगिन् । त्यहाँका डाक्टरले खासै चासो नदेखाएपछि उनले स्थानीय मेडिकलमा गएर चेकजाँच गराउनुप¥यो ।
चन्द, गिरी र वुवाथोकी त प्रतिनिधी पात्र मात्रै हुन् । पछिल्लो समय रुकुम पश्चिमको जिल्ला अस्पतालमा पुग्ने अधिकांश गर्भवती महिलाले अस्पतालबाट सेवा नपाएको गुनासो गरेका छन् ।
एकातिर कोभिड–१९ को जोखिम वढ्दै जानु र अर्को तिर गर्भवती तथा सुत्केरी महिलाहरूले सेवा नपाउँदा अप्ठेरोमा परेको स्थानीय महिला गोमा विकको भनाई छ । उनले भनिन, ‘पछिल्लो समय जिल्ला अस्पताल रुकुम पश्चिमबाट गर्भवती सुत्केरीका साथै अन्य बिरामीले पनि उपचार सेवा पाएका छैनन् ।’
सहज रुपमा प्रसूति सेवा नपाउँदा आमा र बच्चाको ज्यान नै जोखिममा हुने गरेको छ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्वन्धी हकको उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क पाईने हक हुनेछ र कसैलाई पनि आकश्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ ।
संविधानमा स्वास्थ्य सम्वन्धी हकमा स्पष्ट लेखिएको भएपनि दुर्गम गाउँ समाजका बिरामीहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्, जसका कारण नागरिकको जीउज्यान असुरक्षित बन्दै गएको छ ।
तीन वर्ष झण्डै २ हजार जनाले लिए प्रसूति सेवा
जिल्ला अस्पताल रुकुम पश्चिमको गत ३ वर्षको तथ्याङ्क हेर्दा १ हजार ८ सय २० जनालाई प्रसूति सेवा प्रवाह गरिएको छ । जसमा १०५ जना शल्याक्रिया मार्फत बच्चा जन्माएको तथ्याङ्कले देखाउँछ । । सबैभन्दा वढी गत आर्थिक वर्ष २०७५÷०७६ मा ६६१ जना महिलाहरूले प्रसूति सेवा लिएका छन् । जसमध्ये ४७ जना जटिल किसीमका छन् भने ६०२ जनाले सामान्य किसीमबाट बच्चा जन्माएको जिल्ला अस्पताल रुकुमका तथ्याङ्क अधिकृत इश्वर रावलले जानकारी दिएका छन् ।
त्यस्तै गत आर्थिक वर्ष २०७४÷०७५ मा ५७१ जनामा ३८ जना जटिल किसीमको र ५५५ जनाले सामान्य प्रसूति सेवा लिएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा जम्मा ५८८ जना मध्ये ५५७ जनाले सामान्य प्रसूति सेवा र बाँकी २० जनाले जटिल किसीमको प्रसूति सेवा लिएको तथ्याङ्क छ । यसरी तथ्याङ्क हेर्दा पनि अघिल्ला बर्षहरूको तुलनामा गत बर्षमा कमैले प्रसूति सेवा पाएका छन् ।
दरबन्दी छ, डाक्टर छैनन्
जिल्ला अस्पताल रुकुम पश्चिममा नबौं तहको विशेषज्ञ (एमडिजिपी) डाक्टर सहित २६ जनाको दरबन्दी रहेको छ । तर हाल जिल्ला अस्पतालमा १५ जना मात्र कार्यरत छन् । त्यो विशेषज्ञ तहको कुनैपनि डाक्टर नहुँदा जटिल किसीमको सेवा प्रवाह गर्न नसकेको जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य व्यवस्थापक डा.महेश चौलागाईले बताए । उनले भने, ‘जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा जटिल किसीमको बिरामीहरूलाई जिल्ला अस्पताल सल्यान र मिसन अस्पताल चौरजहारीमा रिर्फर गर्न बाध्य भएका छौं ।’ हामीले पटक–पटक नेपाल सरकार स्वास्थ्य विज्ञान प्रष्ठिानमा दरबन्दीको बारेमा कुरा उठाउँदा पनि कुनै सुनुवाई हुन सकेको छैन् ।
यसअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना नबौं तहको विशेषज्ञ (एमडिजिपी) काजमा पठाए पनि उनको काज फिर्ता भएपछि थप समस्या भएको छ । जिल्ला अस्पताल रुकुम पश्चिममा विशेषज्ञ नवौ तहको (एमडिजिपी) ३ जनाको दरवन्दी भए पनि ३ जनाको रिक्त रहेको छ । त्यस्तै मेडिकल अधिकृतको ४ जनाको दरवन्दीमा १ जना मात्र कार्यरत रहेको छ ।
दुर्गम ठाउँमा टिक्दैनन् डाक्टर
डा. राजेन्द्र जिसी २०७३ मंसिरमा जिल्ला अस्पताल रुकुम पश्चिममा हाजिर भए । तर १० महिना नपुग्दै उनी सरुवा भए । त्यस्तै डा. सविन पोखरेल २०७४ असोजमा जिल्ला अस्पतालमा हाजिर भए । उनीपनि लामो समय टिक्न सकेन् । ८ महिनामै अध्ययन विदा लिएर पढ्न गएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ । जिसी र पोखरेल मात्र होईना दुर्गम जिल्लामा डाक्टर नटिक्ने पुरानै समस्या हो ।
रुकुम जिल्ला अस्पतालले पनि त्यस्तै समस्या बेहोर्दै आएको छ । एकातिर दरवन्दी अनुसारको डाक्टर नहुँनु र अर्कोतर्फ पदाअवधि नसकिदै डाक्टर सुरुवा हुनेले बिरामीहरूलाई थप समस्या बनाएकोे जिल्ला अस्पताल रुकुम पश्चिमका प्रशासन प्रमुख जनक खड्काले जानकारी दिएका छन् । उनले भने, जिल्ला अस्पतालको हाजिर रेर्कड हेर्दा न्युनतम ६ महिना देखी डेढ वर्ष पुग्दा नपुग्दै डाक्टरहरू सरुवा हुने गरेका छन् ।
पदावधि नसकिदै पहुँच र प्रभावका कारण सुगम जिल्लामा सरुवा, काज वा अध्ययन विदाको नाममा डाक्टरहरू सरुवा हुने गरेका छन् । नेपाल सरकारले छात्रबृतिमा पढाएका डाक्टरहरूलाई अनिवार्य रुपमा २ वर्ष दुर्गम गाउँमा सेवा गर्ने बाध्यात्मक व्यवस्था गरेपनि दुर्गम गाउँमा डाक्टर बस्न नसकेको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।
शल्यक्रिया सेवा बन्द
विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पताल रुकुम पश्चिममा शल्यक्रिया सेवा बन्द भएको छ । गत ५ महिनादेखी शल्यक्रिया सेवा बन्द हो । जसका कारण जटिल प्रकारको प्रसूति सेवा लिने महिला र स–साना अप्रेशन गराउने बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ ।
जिल्ला अस्पतालमा जटिल प्रकारको प्रसूति सेवासहित हाइड्रोसिल, हर्नियालगायतको शल्यक्रिया हुन्थ्यो । विशेषज्ञ चिकित्सक र एनेस्थेसिया सहायकको दरबन्दी पूर्ति नहुँदा बैशाख अन्तिम साताबाट शल्यक्रिया सेवा बन्द भएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।
यसअघि कार्यरत विशेषज्ञ चिकित्सक सरुवा भएर गएपछि उनको ठाउँमा कोही विशेषज्ञ अझै आएका छैनन् । बिशेषज्ञ डाक्टर नहुँदा यसअघि पनि बेला बेलामा शल्यक्रिया सेवा बन्द हुने गरेको थियो । मुसीकोट नगरपालिका–१ का शान्ति नेपालीले भनिन, ‘कोरोना कहरमा सेवा–सुविधा थपिनुपर्नेमा घट्दा विपन्न बिरामी मर्कामा परेको उनको भनाई छ ।’
उनले कोरोनाका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण सार्वजनिक सवारी नचल्दा बिरामीले थप दुःख पाइरहेको बताईन् । जिल्लामा बिशेषज्ञ सेवा नहुँदा महुँगोमा गाडि रिजर्भ गरी जिल्ला बाहिरका बिरामी लैजानु पर्ने बाध्यता रहेको सानीभेरी गाउँपालिका ३ का अर्जुन विकले बताए । विभिन्न निकायले सञ्चालन गरेका एम्बुलेन्स भरपर्दो नभएको कारण जिल्ला बाहिर बिरामी लैजान उस्तै समस्या रहेको उनले बताए । विशेषज्ञ अभावमा विभिन्न रोगको उपचारमा पनि समस्या भएको जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य व्यवस्थापक डा.महेश चौलागाईले बताए ।
उनले भने, विशेषज्ञ चिकित्सक नहुँदा ३ महिनादेखि भरपर्दो उपचार सेवा प्रवाह गर्न नसकिएको डा. चौलागाईले बताए । कतिपय अवस्थामा जनशक्ति नपाइने र पाइए पनि बजेटको अभाव हुने कारणले सेवा प्रवाहमा समस्या भएको जिल्ला अस्पताल रुकुम पश्चिमले जनाएको छ । विशेषज्ञ चिकित्सकलगायत स्वास्थ्यकर्मीको पदपूर्तिका लागि भर्खरै विज्ञापन गरिएको छ, पदपूर्ति भएमा चाँडै अप्रेशन सेवा सुरु गरिने जनाएको छ ।