ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टोल शिक्षा कार्यक्रम शुरू गर्दै ग्रामीण विद्यालय

२०७७ असोज, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । शहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ । विद्यालय पनि जान नमान्ने आफ्ना नानीबाबुहरूलाई मोबाइल र कम्प्युटरका स्क्रिन अगाडि घन्टौं बसाइराख्नुपर्ने सकस उनीहरूलाई छ । शहरमा पो घरघरमै इन्टरनेट छ र अनलाइन क्लास छ । विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन् । लकडाउनका बेला दूरदराज विद्यार्थी अनलाइन क्लासबाट पढ्दैनन् । किनकि उनीहरूलाई अनलाइन पढाउन न निजी विद्यालयले जस्तो कसैले पहल गर्छ न त उनीहरूका बुवाआमाले घरमै बिजुली र इन्टरनेट
जोड्न सक्छन् ।

उसो त सरकारले भर्चुअल माध्यमबाट पठनपाठन शुरू गर्न सरकारले निर्देशन दिए पनि अधिकांश विद्यालयले त्यो लागू गर्न सक्ने स्थितिमा छैनन् । त्यही ठानेर होला इन्टरनेट न्यून पहुँच पुगेको सुर्खेतको चौकुने गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले सामाजिक दूरी कायम गर्दे विद्यालयलाई टोल शिक्षा पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको निर्देशनपछि चौकुनेका केही विद्यालयहरूले पठनपाठन नै शुरू गरिसकेका छन् भने केही शुरू गर्ने तयारीमा रहेको बताइएको छ । चौकुनेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेराले अघिल्लो हप्तादेखि नै टोल शिक्षा कार्यक्रम मार्फत विद्यार्थीलाई कोभिड–१९ बारे सचेतना जगाउँदै पठनपाठन शुरू गरेको छ । सामाजिक दूरी कायम गरी शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थालेका छन् ।

विद्यालयका प्रधानाध्यापक जगत जोशीले कोभिडका कारण लामो समयदेखि अवरुद्ध पठनपाठनलाई टोल शिक्षा मार्फत सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री उपयोग गरेर सम्पर्क कक्षाका रूपमा शुरू गरिएको बताए । स्वास्थ्य सुरक्षा अपनाएर नयाँ शैक्षिक सत्रको पठनपाठन आफ्नै तरिकाले शुरू गरिसकिएको उनले बताए ।

उनका अनुसार नेरा आधारभूत विद्यालय मोतिसेराले यसरी विद्यार्थी पढाउन थालेको दुई दिन भइसक्यो । यो विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि २०० जना भर्ना भएका छन् । उनीहरूलाई किताब वितरण गरिसकिएको जानकारी उनले दिए । किताब बाँडिसकिएको र इन्टरनेटबाट पठनपाठन सम्भव नभएकाले सामाजिक दूरी कायम गरी समूह–समूह बनाएर पठनपाठन गर्ने निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेको उनले जानकारी दिए । ‘एउटा समूहमा २० जना विद्यार्थी छन् । पाँचओटा समूह र केही समूहका उपसमूह बनाएर पनि विद्यार्थीलाई पढाउन शुरू गरिएको हो,’ उनले भने ।

विद्यालयका सबै शिक्षकहरू स्थानीय बासिन्दा नै भएकाले सबैलाई परिचालन गरिएको उनले बताए । ‘विद्यार्थीहरू खेलेरै बस्ने भए । यहाँ रोगको प्रकोप पनि अहिलेसम्म छैन,’ उनले भने, ‘टोलटोलमा गएर खुला ठाउँमा सामाजिक दूरी कायम गरी पठनपाठन गरेका हौं ।’ यद्यपि चौरमा राखेर पढाउँदा हावाहुरी र पानी पर्दा समस्या हुने गरेको उनले बताए ।

चौकुने गाउँपालिकाकै सबैभन्दा ठूलो विद्यालय जीवन ज्योति माविले समेत टोल शिक्षा कार्यक्रम मार्फत पठनपाठन सञ्चालन गर्ने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक ओमबहादुर दर्लामीले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा गाउँ शिक्षा समितिको समन्वयमा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन शुरू गर्ने तयारी भएको
जानकारी दिए ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख टेकन्द्रबहादुर बुढाले गाउँ शिक्षा समितिको भदौ १४ गते बसेको बैठकले कोभिड–१९ को कारण प्रभावित शैक्षिक संस्था लामो समयदेखि बन्द हुँदा पठनपाठनमा अवरोध सृजना भएकाले विद्यार्थीहरूलाई अध्ययन सहज बनाउन परिपत्र पठाइएको बताए । गाउँ शिक्षा समितिको उक्त निर्देशनलाई सबै विद्यालयले आधार मानेर कतिपय तयारीमा रहेको र कतिपयले भदौ २० गतेदेखि पायक पर्ने टोल, समाजमा शिक्षक खटाएर टोल शिक्षा अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए ।

सहज छैन दूरशिक्षा
कोरोना महामारीका कारण गत चैत पहिलो सातादेखि विद्यार्थीहरूले विद्यालयमा पाइला टेक्न पाएका छैनन् । कतिले परीक्षा नै दिन पाएनन् भने परीक्षा दिइसकेकाहरूले पनि विद्यालयमा उपस्थित भएर प्रमाणपत्र लिन पाएका छैनन् । कोरोना लक्षित निषेधाज्ञा÷लकडाउन लम्बिँदै गएपछि विद्यालयहरूले दूरशिक्षामा जोड दिए पनि सबै विद्यार्थी प्रविधिको पहुँचमा छैनन् । विद्यालय व्यवस्थापन र शिक्षकहरूलाई पनि दूरशिक्षाबाट पढाउन सजिलो छैन, जसले गर्दा शैक्षिक सत्र नै खेर जाला कि भन्ने चिन्ता बढेको छ । कोभिड–१९ महामारीका बेला विद्यार्थीलाई कसरी पढाइमा जोड्ने, शैक्षिक सत्र गुम्न नदिन के गर्ने भन्ने जस्ता विषयमा सरोकावालाले बुझ्न आवश्यक देखिएको शिक्षाविद् नरेश ढकाल बताउँछन् । लकडाउनपछि दूरशिक्षा कसरी सञ्चालन गर्ने भनेर सर्वेक्षण गर्दा ४ प्रतिशतभन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचमा नरहेको पाइएको जानकारी उनले दिए । सञ्चारमाध्यममा चर्चा भएजस्तो निजी विद्यालयमा पनि अनलाइन कक्षा सञ्चालन नभएको उनले बताए । ‘केही विद्यालयले भने यथासम्भव पढाउने प्रयास गरेका छन् । सामुदायिक विद्यालयमा पहुँचकै कमी छ । यस्ता विद्यालयहरूले प्रयास गरेको पनि देखिँदैन,’ उनले भने । अवस्थितिको हिसाबले पनि सामुदायिक विद्यालय ग्रामीण क्षेत्रमा रहेको र निजी विद्यालय शहर वा सदरमुकाम केन्द्रित रहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)