धनकुटा । धनकुटा नगरपालिकाले सुक्खा क्षेत्रमा सुरु गरेको ड्रागन फलको खेती अभियानले सार्थकता पाउन थालेको छ । व्यावसायिक कृषिका लागि एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले सुक्खा क्षेत्रमा करिब २ वर्ष अगाडि ड्रागन फलको खेती सुरु गरेको थियो ।
मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर नगरपालिका क्षेत्रको अति सुक्खाग्रस्त क्षेत्र र आर्थिक रुपमा विपन्न वडा– ८ मा खेती सुरु गरिएको थियो ।
सो वडाका किसानले ड्रागन फलको व्यावसायिक खेती गरेर आम्दानी लिन थालेका छन् । सिँचाइको समस्या भएको क्षेत्रमा सहजै खेती गर्न सकिने भएकाले जिल्लाका किसानहरू यतिबेला ड्रागन फलको व्यावसायिक खेतीमा आकर्षित भएका छन् । ड्रागन फलको बिरुवा रोप्ने लक्ष्य राखेर धनकुटा नगरपालिकाले करिब २ वर्षअघि वडा–८ को टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरी एक सय ४२ परिवार आबद्ध गराएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
उनले समूहका सबै सदस्यलाई ड्रागन फलको सैद्धान्तिक तथा व्यावहारिक तालिम घरआँगनमै उपलब्ध गराइएको र तालिमपछि ७० प्रतिशत अनुदानमा १ हजार ५ सय ५५ वटा बिरुवा वितरण गरिएको जानकारी दिए ।
नगरपालिकाको अभियानमा सफल कृषक राई
नगरपालिकाले सुरु गरेको ड्रागन फलको खेती गरेर धनकुटा नगरपालिका वडा–८ सान्ताङका किसान अम्बर राईले गतिलो आम्दानी लिन थालेका छन् । उनले गत वर्षबाट सुरु गरेको ड्रागनले फल दिन थालिसकेको छ भने बिरुवा बिक्रीबाट हालसम्म २ लाख ३३ हजार रुपैयाँ आम्दानी लिएको बताए ।
ड्रागन फलको खेतीबाट आम्दानी मात्र हैन, उनले केहीलाई रोजगारसमेत दिएका छन् । राईले हाल साढे तीन रोपनी जग्गामा करिब चार सय वटा बिरुवा लगाएका छन् भने १२ रोपनी जग्गाा ड्रागन फलको खेती विस्तार गर्न बिरुवा रोप्ने काम गरिरहेका छन् । रोजगारीको सिलसिलामा १४ वर्षअघि साउदीमा रहँदा ड्रागन फलको खेती देखेर नेपाल आएपछि खेती गर्ने योजना बनाएको राईले जानकारी दिए ।
‘नेपाल फर्कनेबित्तिकै सुरुमा बिरुवा अभावका कारण खेती गर्न सकिएन । ड्रागन खेतीका लागि बिरुवाको खोजीमा धेरै भौंतारिएँ’, राईले भने ।
उनले सुरुमा बिरुवा किन्नसमेत नपाएकामा गत वर्ष धनकुटा नगरपालिकाले वितरण गर्दा दुइटा बिरुवा पाएको बताए । त्यसपछि काभ्रे र झापाबाट किनेका बिरुवाबाट नर्सरी बनाएको राईको भनाइ छ । कुनै बेला खेती गर्न बिरुवा नपाएका राई अहिले जिल्ला बाहिरसम्म बिरुवा बिक्री गर्ने हैसियतमा पुगेका छन् ।
बहुउपयोगी फलका रुपमा चिनिएको ड्रागनको कोपिला, फूल र फल सबै उपयोगी हुने गरेको छ । फुलेको फूल ग्रीन टी बनाएर खान मिल्छ भने कोपिलाको तरकारी हुने किसान राई बताउँछन् ।ड्रागन बेलुका ७ बजेबाट फुल्न सुरु गरी रातको १२ बजेसम्म फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरेको पाइन्छ । ड्रागन फलको बिरुवा एक दिन मात्रै फुल्ने गर्दछ । फुलेको फूल तीन दिनमा झर्ने र फूल फुलेको करिब ४० दिनमा फल पाकेर खानयोग्य हुने गरेको छ ।
मेक्सिकोको रैथाने फल
ड्रागन फल खेती सम्भाव्यता बारे पुस्तकसमेत लेखिसकेका कृषि अभियन्ता जीवनकुमार राईका अनुसार यो फल मेक्सिकोको रैथाने फल हो । क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ ।
यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइन्छन् । यो क्यान्सर प्रतिरोधात्मक मानिने हुँदा यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न दिँदैन ।
पछिल्लो समय यस फलको महत्व बढेर गएको छ । यसको खेती बारी तथा गमला दुवैमा उत्तिकै गर्न सकिने कृषि अभियन्ता राईले बताए । ड्रागन फलको बिरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ भने एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिने अभियन्ता राईको बुझाइ छ । यसको फल बजारमा प्रतिकिलो ६ सय रुपैयाँ पर्ने गरेको छ । ड्रागन फलको बजार नेपालको आन्तरिक बजार ठूलो रहेको विज्ञहरू बताउँछन् ।