सुर्खेत । आन्तरिक उडान सञ्चालन गर्न सुर्खेत विमानस्थलमा आवश्यक सुरक्षा मापदण्डको तयारी पूरा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा आवागमन र प्रस्थान कक्षमा चिह्न लगाइएको छ भने स्वचालित सेनिटाइजरको समेत व्यवस्था गरिएको छ ।
न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिह्न लगाउने काम सम्पन्न गरिएको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । उनले सामाजिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेका यात्रुहरु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको सुरक्षा मापदण्ड तोकिएको बताए ।
कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम गरेर मात्रै यात्रुलाई प्रवेश गराउने व्यवस्था कार्यालयले गरेको पन्थीको भनाइ छ ।
‘विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय भइसकेको छ,’ उनले भने, ‘सुर्खेत–काठमाडौं उडान सुरु हुनुपूर्व नै आवश्यक स्वास्थ्यकर्मीको टोलीलाई विमानस्थलमा खटाउने प्रतिबद्धता सामाजिक विकासमन्त्री दल रावलबाट आएको छ ।’
उनले विमानस्थल प्रवेशदेखि विमान चढ्दासम्म अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कसरी ख्याल गर्ने भन्ने विषयमा विमान कम्पनीका प्रतिनिधिहरुसँग समन्वय
गरिएको बताए ।
सुर्खेत विमानस्थलबाट सुर्खेत–काठमाडौं बुद्ध एयरले उडान भर्दै आएको छ । तर उडान कहिले गर्ने भन्नेबारे बुद्ध एयरले कुनै जानकारी नगराएको विमानस्थल स्रोतले बतायो । सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा र मुगुमा तारा, समिट, सीता एयरले उडान गरिरहेका छन् ।
यस्तै, सुर्खेतमा नेपाली सेनाको पश्चिम एयरवेशसमेत सञ्चालनमा छ ।
बसपार्कमा पनि उस्तै भीड
सरकारले लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेसँगै सुर्खेत बसपार्कमा यात्रुहरुको भीड बढेको छ । लामो समयदेखि बन्द रहेको लामो दूरीको सवारी असोज १ गतेबाट खुल्ने भएपछि यात्रुहरुले टिकट बुकिङ गर्न थालेका हुन् ।
विगतमा सुनसान बनेको सुर्खेत बसपार्कमा एकाध गाडी पार्किङ गरेर राखिए पनि बुधबारदेखि चहलपहल बढेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट अन्य प्रदेश तथा कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने यात्रुले टिकट बुकिङ गर्न थालेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । आधा सिटमा यात्रु राख्ने, भाडाको ५० प्रतिशत बढी लिने गरेर गाडी सञ्चालनमा ल्याउने तयारी भएको सुर्खेत काँक्रेविहार यातायातका अध्यक्ष सापकोटाले बताए ।
उनले लामो र छोटो दूरीका सवारी साधनबाट सरकारले तोकेअनुसारको भाडादर कायम गरिने जनाए । यसअघि लामो दूरीका सवारीसाधन सञ्चालन नआउँदा रातो नम्बर प्लेटका सवारीले मनलाग्दी भाडा असुल्दै आएपछि प्रहरीले कारबाहीसमेत गरेको थियो ।
‘सार्वजनिक यातायात भन्दा रातो नम्बर प्लेटका सवारीले भाडा लिएको सत्य हो,’ उनले भने, ‘अबदेखि सञ्चालन हुने यातायातका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा नतिर्न सबै यात्रुवलाई अनुरोध गरिएको छ ।’
कसैले मनलाग्दी भाडा लिएको पाइए सम्बन्धित यातायात कम्पनी र प्रहरीलाई खबर गर्न उनको आग्रह छ । यातायात व्यवसायीहरुले बन्दाबन्दीका कारण धराशयी बनेको व्यवसायलाई राहत मिल्ने अपेक्षा गरेका छन् ।