धनकुटा । वडा कार्यालयको सेवासुविधा पाउन कठिनाइ भएको भन्दै धनकुटाको पाख्रिवास नगरपालिका–३ का बासिन्दाले सीमा हेरफेर गर्न माग गरेका छन् । जिल्लाको साविक पाख्रिवास नगरपालिका–४, हाल वडा नं ३ कसेनी टोलका बासिन्दाले सीमा हेरपफेर गरेर सहजै सेवा पाउने व्यवस्था मिलाउन माग गर्दै नगरपालिका कार्यालयमा ज्ञापनपत्र
बुझाएका छन् ।
पाख्रिवास नगरपालिका–३ कसेनी टोलका ६० घरधुरीले हाल पाख्रिवास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा पाउन कठिन भएको भन्दै नगर प्रमुख वृषबहादुर राईलाई ज्ञापनपत्र बुझाएका हुन् । पाख्रिवास नगरपालिकाको नयाँ संरचना अनुसार हालको वडा नं. ३ को भौगोलिक सीमा उत्तरतर्फ धनकुटा नगरपालिका–१ हिले र दक्षिणतर्फ कसेनी भुल्केसम्म जोडिएको छ । हालको वडा नं. ३ कसेनीमा बसोवास गर्ने नगारिकलाई राज्यले प्रदान गर्ने सेवासुविधा उपभोग गर्न असहज भएको उनीहरूले बताएका छन् । तत्कालीन गाविस हुँदाको बेलाभन्दा पनि अपायक परेकाले कसेनी टोलका जनतालाई सेवा लिन कठिन भएको गुनासो उनीहरूले नगर प्रमुख वृषबहादुर राईसामु राखे ।
ज्ञापनपत्र बुझाउन पाख्रिवास नगरपालिका कार्यालय पुगेका कसेनी टोलका अगुवा मिलन देवान राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–२ को दफा ६ मा व्यवस्था भएको सीमा हेरफेर सम्बन्धी कानूनको आधारमा आफूहरूले माग गरेको बताए । कसेनी टोलका ६० घरका करीब ३०० सदस्यको संयुक्त भेला र मञ्जुरीबाट निर्णय गरेर वडाको सिमाना हेरफेरको विषयमा नगरपालिकामा ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ ।
कसेनी टोलवासीले बुझाएको सीमा हेरफेर सम्बन्धी ज्ञापनपत्र बुझ्दै पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राईले टोलवासीको माग सम्बोधनको आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टोलवासीको पूर्ण सहमति हुने हो भने आम भेला बोलाएर निर्णय सहित नगरपालिका अघि बढ्ने उनले बताए । पाख्रिवास नगरपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालय धनकुटामा समेत बोधार्थ गरिएको छ ।