ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरको औद्योगिक घराना मंगतुरामका ९ उद्योग लिलामीमा

२०७७ असोज, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । राष्ट्रिय वाणिज्य बैंकले विराटनगरका औद्योगिक घराना मंगतुराम अग्रवाल समूहको ९ वटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीको सूचना निकालेको छ ।

बैंकले ३५ दिने सूचना निकालेर हाल छिनभिन्न भएको यो समुहलाई कर्जा चुक्ता गर्न आह्वान गरेको हो । म्यादभित्र चुक्ता नगरे सो समुहको ९ वटा फर्म/कम्पनीको ८७ करोड २४ लाख बराबरको धितो लिलामी हुने सूचनामा भनिएको छ ।

विसं ४० को दशकमा उदाएको औद्योगिक घराना मंगतुराम समुह व्यवस्थापकीय कमजोरीका कारण अहिले धराशयी भइसकेको छ । यस समूहलाई ०६२ मै कर्जा सूचना केन्द्रले कालोसूचीमा राखिसकेको थियो ।   

साबुन उद्योगमार्फत व्यवसायिक यात्राको आरोहमा उक्लिएको मंगतुराम समूह ६० को दशकमा आइपुग्दा अवरोहमा लागिसकेको थियो ।

उद्योग सञ्चालन गर्न नसकेपछि यस समूहका केही सञ्चालकहरू भारत पलायन भइसकेका छन् । वाणिज्य बैंकबाट उद्योग सञ्चालनका लागि लिएको ऋणको सावाँब्याज भुक्तानी नगरेपछि उद्योगका अचल सम्पत्तिको लिलामीको सूचना बैंकले प्रकाशित गरेको हो ।

यस समूहको सुनसरी र मोरङमा अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना र फूलपाती  इन्टरप्राइजेज रहेका थिए ।

अहिले यी उद्योगहरू लामो समयदेखि बन्द हुँदा  खण्डहर बनेका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ ऋणीले ब्याज तिर्न लामो समयदेखि चासो नदेखाएकाले बैंकले सबै सम्पत्ति आफ्नो नाममा ल्याउने प्रक्रिया सुरु गरेको बताउँछन् ।

सञ्चालकमध्येका कृष्णकुमार अग्रवाल सम्पर्कमा आए पनि ऋण तिर्ने विषयमा कुनै पहल नगरेकाले बैंकले लिलामीको सूचना निकालेको उनले बताए । तर, ३५ दिनभित्रमा ऋणीहरू सम्पर्कमा आएर ऋण व्यवस्थापन गर्न चाहे त्यो मौका दिन बैंक तयार रहेको श्रेष्ठले जानकारी दिए ।

मंगतुराम समूहले लिएको ऋणको सावाँब्याज गरी अहिले झन्डै ४ अर्ब रुपैयाँ पुगेको छ ।  

यस समूहका मुखियाा मंगतुराम अग्रवालले ०४० को दशकदेखि व्यापारमा हात हालेका थिए । उद्योगी सुशील धनावतसँगको सहकार्यमा आयात निर्यातको व्यवसाय गरिरहेका मगन्तुरामले ०४० को दशकमा हिमालय सोप इन्डस्ट्रिज स्थापना गरेका थिए ।

त्यसपछि धनावतसगको सहकार्य तोडी उनले आफ्नै आफन्तलाई साझेदार बनाए । साथै, सुनसरीकै सोनापुरमा अर्को साबुन उद्योग पशुपति सोप इन्डस्ट्रिज स्थापना गरे । त्यो साझेदारी पनि ०४७ मा टुंग्याउँदै मंगतुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग सञ्चालनमा ल्याए, साथै आफ्ना छोराहरूलाई व्यवसायमा सक्रिय बनाए ।

०५३ सम्म आइपुग्दा सात वटा उद्योग र २ वटा व्यापारिक फर्म पूर्णरुपमा सञ्चालनमा आउँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा मंगतुराम समूहको राम्रै वर्चस्व थियो ।

यस समूहको नारायण भेजिटेबल इन्डस्ट्रिजले क्रुड पाम आयात गरी त्यसलाई प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको थियो । पामको निर्यातकर्ताको रुपमा राम्रो आम्दानी गरिरहेको उद्योगले आयात गरेको पाम आयलमा मिसावट भेटिएपछि यो समूहको औद्योगिक यात्रा ओरालो लागेको विराटनगरका उद्यमीहरू बताउँछन् । यसबाट समूहले २० करोड रुपैया घाटा बेहोर्नुपरेको थियो । र, २०६० सम्म आइपुग्दा बैंकको ब्याज र ऋणबाट यो समूह थलिन पुग्यो । मंगतुरामले व्यापारबाट उद्योग क्षेत्रमा हात हाल्दाका पहिलो साझेदार सुशील धनावत आर्थिक अनुशासन कायम गर्न नसक्दा उक्त समूहको ओरालो लागेको बताउँछन् । ‘कुनै पनि उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्दा सञ्चालकले कडा आर्थिक अनुशासन पालना गरे मात्र त्यसले प्रगति गर्न सक्छ’, धनावत भन्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)