ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा उत्पादित दूध सुर्खेत पठाउन शुरू

२०७७ असोज, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा उत्पादित दूध सुर्खेत निकासी हुन थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा उत्पादित दूध स्थानीय बजारको मागभन्दा बढी भएपछि सुर्खेत पठाउन थालिएको हो । विगतमा जिल्लामा सीमित मात्रामा दूध उत्पादन हुँदा स्थानीय बजारमै खपत हुँदै आएको थियो । तर पछिल्लो समय व्यावसायिक रूपमा गाईभैंसी पालन गर्ने किसानको संख्या बढ्दै गएकाले जिल्ल्लामा दूध उत्पादन बढेको छ ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र श्रीनगर, खलंगा, थारमारे लगायत बजारमा खपत भएर बचेको दूध सुर्खेत पठाउन थालिएको जीवन डेरी उद्योग बागचौर नगरपालिका २ बागचौरका सञ्चालक प्रेम डाँगीले जानकारी दिए । उनका अनुसार जिल्लाबाट पहिलोपटक सुर्खेतमा दूध पठाउन थालिएको हो ।

‘जिल्लामा व्यावसायिक गाईभैंसीपालनमा किसानको आकर्षण बढेकाले दूध उत्पादन बढेको छ,’ उनले भने, ‘अहिले दूध विक्रीमा कुनै समस्या छैन ।’ दूधबाट दही, घ्यू बनाएर विक्री गर्नुभन्दा दूध विक्रीबाट किसानलाई बढी फाइदा हुने उनको भनाइ छ । २०७२ सालमा दैनिक ७ लिटर दूधबाट डेरी उद्योग सञ्चालन गरिएकोमा अहिले दैनिक १ हजार लिटरभन्दा बढी दूध संकलन हुने गरेको उनले बताए ।

अहिले जीवन डेरीमा संकलन भएको दूध जिल्लाका झण्डै आधा दर्जनभन्दा बढी डेरीमा जाने गरेको छ । डेरी उद्योगमा १ करोड रुपैयाँभन्दा बढी लगानी गरेका डाँगीले दूध संकलन तथा वितरणका लागि २ ओटा गाडी खरीद गरेका छन् । उनको डेरीमा ५ जनाले रोजगारी पाएका छन् ।

डेरी उद्योगसँगै उनले व्यावसायिक भैंसीफार्म समेत सञ्चालन गरेका छन् । फार्ममा अहिले ६ ओटा भैंसी रहेको उनले बताए । नेपाल डेरी एशोसिएशन कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका डाँगीले अहिले जिल्लाभर १७ ओटा डेरी उद्योग सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार जिल्लाभरका ५०० भन्दा बढी किसान दुग्ध पेशामा आबद्ध छन् ।

व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि जिल्लाका कृषकले पनि दूध बेचेर मनग्गे आम्दानी गर्दै आएका छन् । दूध विक्रीबाट राम्रो आयआर्जन हुन थालेपछि यस व्यावसायिक रूपमा  पशुपालन गर्ने कृषक बढ्दै गएका छन् । जिल्लामा सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायत सुविधा कारण पशुपालनमा कृषकको आकर्षण बढेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)