असोज १२, सुर्खेत । स्थानीय जग्गाधनीको अवरोध कारणले राष्ट्रिय गौरवको भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । जग्गा भाडामा उपलब्ध गराए वापत परिवारका सदस्यलाई रोजगारीको माग राख्दै जग्गाधनीले तीन दिनदेखि आन्दोलन गर्दा आयोजनाको काम ठप्प भएको हो ।
स्थानीयले ५२ रोपनी जग्गा पाँच वर्षका लागि भाडामा आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/ रमन जेभीलाई दिए वापत १७ जनालाई रोजगारी नदिएसम्म काम सुचारु गर्न नदिने माग राख्दै ड्याम साईट (हेडवक्र्स) को काम अवरुद्ध गरिएको आन्दोलनरत पक्षका अगुवा टेकबहादुर सार्कीले बताए ।
उनले आफ्ना तीन सुत्रीय मागहरु सम्बोधन नभएसम्म आयोजनाको काम सुचारु हुन नदिने बताए । उनका अनुसार भाडामा जग्गा दिएका परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने, कन्ट्र्याक्टर क्षेत्रमा ढल निकासको व्यवस्था गर्नुपर्ने र कन्ट्र्याक्टर क्षेत्र निर्माण गर्दा नष्ट भएका रुखविरुवाको क्षतिपूर्ती दिनु पर्ने माग छन् ।
यता आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/ रमन जेभीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटाले स्थानीयको अवरोधका कारण तीन दिनदेखि आयोजनाको काम रोकिएको बताए । उनले आयोजनाको काम कोभिड—१९ तथा प्रोजेक्टकै समस्याले ड्याम साईटको काम पूर्णगतिले सञ्चालन गर्न नसकिएको बेला तत्काल स्थानीयको मागलाई सम्बोधन गर्न नसकिने बताए ।
उता स्थानीयबाट ड्याम साईटको काम अवरुद्ध बारे जानकारी लिन खोज्दा भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजना प्रमुख सुरेशकुमार शर्मालाई समपर्क गर्न खोज्दा सफल हुन सकेन । अहिले ड्याम साईटको काम अवरुद्धहुँदा ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन र रमन जेभीका २६५ जना कामदार कामविहिन भएका छन् ।
निर्माण कम्पनीलाई धम्की
भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माणाधीन ड्याम साईट स्थलमा निर्माण कार्य शुरु भएदेखि नै स्थानीयहरु निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/ रमन जेभीका प्रतिनिधिसँग असन्तुष्ट रहँदै आएका छन् ।विगत एक वर्षदेखि स्थानीयले मुख्यतः रोजगारीको मागलाई प्रमुख मुद्दा बनाएका छन् ।
आयोजनाको १२ किलोमिटर सुरुङ्ग खन्ने काम सकिएपनि अहिले ड्याम साईट र पावर हाउस निर्माणको काम बाँकी छ । करीब रू.७०० करोड लागत रहेको आयोजनाको ड्याम साईट निर्माणको काम गत वर्ष असारबाट शुरु भएको थियो । यसबीचमा स्थानीय र निर्माण कम्पनीको प्रतिनिधिहरु बीच विभिन्न बाहनामा पटक–पटक विवाद हुँदै आएको छ ।
शुरुका दिनमा आयोजनाले राम्रै गति लिएपनि कोरोना महामारीपछि सहजरुपले निर्माण सामग्रीको सहज रुपमा उपलब्ध हुन नसक्दा सोचेजस्तो प्रगति हुन नसकेको सापकोटाले बताए । उनले आयोजनाको ड्याम साईट र पावर हाउस निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य राखिएपनि स्थानीयबाट हुने पटक–पटकको अवरोधले समस्या हुँदै आएको बताए ।
‘स्थानीयहरुले कुटपिट गर्ने, ज्यान मार्ने धम्कि दिने जस्ता अराजक गतिविधिले कुनैपनि समय अप्रिय घटना हुने देखिएकाले आयोजनाको काम ठप्प जस्तै भएको छ,’ उनले भने, ‘आयोजना कार्यस्थलसँगै मुख्य कार्यालयमा आएर विभिन्न नाजायज माग राखि कामदारसँग मिलेर तालाबन्दी गर्ने, बाटो अवरोध गर्ने लगायतका काम स्थानीयबाट हुँदै आएको छ ।’ उनले स्थानीयको अराजक गतिविधि स्थानीय प्रशासनसँगै आयोजना कार्यालयलाई जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको पनि बताए ।
प्रोजेक्ट म्यानेजरसहित ५ जनाको राजीनामा
धम्की निरन्तर आउन थालेपछि निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन र रमन जेभीका प्रोजेक्ट म्यानेजर सुदन बस्नेतसहित पाँच जना प्राविधिकले पदबाट राजीनामा दिएका छन् । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सुदन बस्नेतले स्थानीयबाट आउने पटक–पटकको धम्कीसँगै आयोजना कार्यालयको बेवास्ताले आजित भएर राजीनामा दिएको बताए ।
उनले देशकै महत्वपूर्ण मानिएको गौरवको आयोजनामा शान्तिपूर्ण तरिकाले काम गर्ने वातावरण नरहेकाले जोखिममा काम गर्न उपयुक्त नठानेर राजीनामा दिएको बताए ।
यद्यपि राजीनामा दिएका प्रोजेक्ट म्यानेजरसहित केही प्राविधिकहरुको राजीनामा हालसम्म स्वीकृत नभएको गुआंग्डोङ युआनियनररमन जेभीले बताएको छ ।
आयोजना कार्यालयको लापरवाही
कर्णालीको समृद्धिसँग जोडिएको राष्ट्रिय गौरबको भेरी–बबई डाईभर्सन आयोजना ठूला आयोजना मध्ये एक भएपनि पटक–पटक आउने स्थानीयको धम्कीले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका बढेको छ ।
लामो समयदेखि स्थानीय र निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/ रमन जेभीका प्रतिनिधि वीच उत्पन्न विवादमा आयोजना कार्यालयले मध्यस्तकर्ताको भूमिका खेल्न नसक्दा थप जटिलता बढ्दै गएको हो ।
आयोजनाको तोकिएको लक्ष्य
टनेल बोरिङ मेशिन (टीबीएम) को सहायताले दुई वर्ष पहिले १२ किलोमिटर २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सम्झौता भन्दा एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र चिनियाँ कम्पनी कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए ।
त्यस्तै, दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माणको कार्यको जिम्मा चिनियाँ कम्पनी गुआंग्डोङ तथा नेपालको रमण निर्माण जेभीले पाएका छन् ।
दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युतगृहलगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रू.६ अर्ब १६ करोड ५२ लाख खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।
आयोजनाबाट उपलब्धि
चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किलोमिटर २१० मिटर लामो सुरुङमार्फत् सोही नगरको वडा नं ११ हात्तीखालस्थित बबईमा भेरीको पानी खसालिनेछ । जहाँ नेपाल सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्याईने छ ।
सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करीब चार अर्ब तीन करोड र बाह्रै महीना सिंचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रू.३ अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’ को ‘नमूना आयोजना’ का रुपमा परिभाषित गरिएको छ ।