ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मंगतुराम उद्योगका मजदुरको श्रम कार्यालयमा निवेदन

२०७७ असोज, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । औद्योगिक घराना मंगतुराम अग्रवाल समूूहका ९ उद्योग तथा फर्म लिलामीको सूचना निस्किएपछि उद्योगमा कार्यरत मजदुरहरूले पाउन बाँकी ४ करोड  ८ लाख रुपैयाँ बराबरको तलब सुविधा पाएका छैन । तलब नपाएको भन्दै  उनीहरूले श्रम कार्यालयमा उजुरी दिएका छन् ।  

टाट पल्टिएको मंगतुराम अग्रवाल समूहको दुई उद्योग नारायणी भेजिटेबल र अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिजका २ सय मजदुरले तलब सुविधा नपाएको भन्दै श्रम कार्यालय विराटनगरमा निवेदन दिएका हुन् ।

अन्नपूर्ण सोप र नारायणी भेजिटेबलमा गरी १ सय २० जना कामदारको ०६१ कात्तिकदेखि ०७२ सम्मको तलब सुुविधा नपाएको भन्दै उनीहरूले नामसहित तलब सुविधाको दाबी गरेका छन् ।

उक्त समूहको दुहवीमा रहेको नारायण भेजिटेबल र अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिजका मजदुरले सञ्चालकहरू बैंक ठगी मुुद्दामा कारबाहीमा परेपछि सेवा सुविधा नपाएको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष गुलावचन खाँले बताए ।

मजदुरहरूले आफ्नो परिश्रमिकबापतको पौने ४ करोड ८ लाख रुपैयाँ पाउन बाँकी रहेको ट्रेड युनियन कांग्रेस सुनसरीका अध्यक्ष माधव चौधरीले जानकारी दिए । एउटा मजदुरले करिब ३ लाख ४० हजारसम्म पाउनुपर्ने उनको दाबी छ ।  

उद्योग ०६१ साल पुसमा बन्द हुँदा त्यहा कार्यरत २ सय स्थायी मजदुरले तलब भत्ता, सञ्चय कोष र उपदानसमेत नपाएको नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष रमेश थापाले बताउँछन् ।

‘मजदुरले पाउनुपर्ने पारिश्रमिक नदिएसम्म उद्योगको जमिन कसैलाई पनि उपभोग गर्न दिँदैनौं’, अध्यक्ष थापाले भने, ‘श्रम कार्यालय विराटनगरको सहयोगमा उद्योगको जग्गा रोक्कासमेत भइको छ ।’

उनीहरूले श्रम ऐन २०६४ को दफा १ सय ६२ अनुसार हरहिसाब गरिदिन सरकार सँग आग्रह गरेका छन् । मजदुरहरूले पाउने तलब र सुुविधाको विषय बैंकले हेर्न नमिल्ने राष्ट्रिय वाणिज्य बैंक स्रोतले बतायो ।

बक्यौता पारिश्रमिक पाउनुपर्ने माग लिएर श्रमिकहरू श्रम कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेताहरूसम्म धाउन थालेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले असोज १ मा मंगतुराम अग्रवाल समूहको ९  वटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीको ३५ दिने सूचना प्रकाशित गरेको थियो । बैंकले सूचना निकालेर ऋणीहरूलाई कर्जा सुविधा चुक्ता गर्न आह्वान गरेको छ । म्यादभित्र चुक्ता नभए ९ वटा उद्योग र फर्मको  ८७ करोड २४ लाख ३६ हजार ६ सय ५७ रुपैयाँ धितो लिलामी हुने सूचनामा उल्लेख छ ।  ४० को दशकमा सफल औद्योगिक घराना व्यवस्थापनमा भएको कमजोरीका कारण धराशयी बन्दै गएको थियो । ०६२ मा कर्जा सूचना केन्द्रले मंगतुराम समूहलाई कालोसूचीमा राखेको थियो ।  

अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग स्थापना गरी साबुन उत्पादन गरेर आर्थिक उपार्जनको ग्राफमा उकालो लागेको समूह ६० को दशकमा आइपुग्दा ओरालो लागेको थियो ।
उद्योग सञ्चालन गर्न नसकेपछि उक्त समूहका सञ्चालकहरू भारत पलायन भएका थिए । वाणिज्य बैंकबाट उद्योग सञ्चालनका लागि लिएको ऋणको साँवाब्याज भुक्तानी नगरेपछि उद्योगका अचल सम्पत्तिको लिलामीको सूचना बैंकले प्रकाशित गरेको हो ।

उक्त समूहको सुनसरी र मोरङमा अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना र फूलपाती  इन्टरप्राइजेज रहेका छन् । यी उद्योग लामो समयदेखि बन्द छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)