ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ का इँट्टा उद्योगमा मजदूर अभाव

२०७७ असोज, २१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतीय मजदूरलाई नेपाल प्रवेशको अनुमति नदिइँदा प्रदेश १ का इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसक्ने भएका छन् । कोरोना महामारीका कारण नेपाल–भारत सीमा आउजाउ बन्द गरिँदा यसको सबैभन्दा ठूलो मार प्रदेश १ का इँटा उद्योगलाई परेको हो ।

भदौदेखि नै इँटा बनाउन शुरु हुने उद्योगहरू अहिले सुनसान छन् । इँटा उत्पादन नहुँदा निर्माण क्षेत्र प्रभावित हुने अवस्था आएको इँटा उद्योगी बताउँछन् ।

प्रदेश १ मा वार्षिक ३४ करोड इटा निर्माण क्षेत्रमा प्रयोग हँुदै आएको छ । प्रदेश १ का ८५ वटा इँटा उद्योगमा पश्चिमबंगालको कुचबिहारका २२ हजार मजदूरले काम गर्दै आएका थिए ।

यहाँका इँट्टा उद्योग ९० प्रतिशत भारतीय मजदूरको भरमा चलेका छन् । भारतीय मजदूर ल्याउन नपाउँदा उद्योग सञ्चालन हुन सकेका छैनन् ।

भारतीय मजदूरको भरमा सञ्चालन हुने इँटा उद्योग कोरोनाका कारण सीमा शिल भएपछि समस्यामा परेका छन् । वार्षिक ३ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार गर्ने प्रदेश १ का इँटा उद्योग मजदुर अभावले सञ्चालन हुन नसकेका हुन् ।

प्रदेश १ निर्माण व्यवसायी संघ अध्यक्ष मोहन अधिकारी अहिले नै इँटा अभाव हुन थालेको बताउँछन् । ‘मागअनुसार इँटा उत्पादन नहुँदा प्रतिगोटा १६ रुपैयाँमा पाइने इँटा अहिले २० रुपैयाँ प्रतिगोटामा किन्नु परिरहेको छ’, अधिकारीले भने, ‘इँटा उत्पादन नहुुने हो भने यो प्रयोग भएर गरिने निर्माणका सबै काम ठप्प हुन्छन् ।’

अन्य प्रदेशबाट इँटा मगाउँदा ढुवानी भाडाको कारण विकास निर्माणको लागत बढ्ने हुँदा ल्याउन नसकिने उनको तर्क छ । मजदुर अभावकै कारण इँटालगायत अन्य निर्माण सामग्री ढुंगागिटी अभाव भइरहेको उनले बताए । अहिले स्थानीय तहले खोला नखोलेका कारण ढुुंगा, गिटी र बालुवाको समेत मूल्य बढेको उनले जानकारी दिए ।

अधिकारीले भने, ‘स्थानीय सरकारले खोला कर बढाए, एक ट्रिपमा १ हजार ८ सय रुपैयाँ कर तिर्नुपर्छ ।’ यसले मूल्य बढायो भने विकास निर्माणको लागतमा समेत असर गरिरहेको छ ।’

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकार काठमाडौं उपत्यकाका इँटा उद्योगमा २० प्रतिशत मजदूर भारतीय र ८० प्रतिशत नेपाली नै भए पनि तराईका अधिकांश उद्योग ९० प्रतिशत भारतीय मजदुरकै भर रहेको बताउँछन् ।

नेपालबाट भारतमा निर्वाध रुपमा कामदार गइरहेका बेला भारतबाट पनि नेपाल काम गर्न आउने मजदुरलाई आउन दिनुपर्ने माग उद्योग मन्त्रालय र राज्यमन्त्रीसमक्ष राखिएको उनले जानकारी दिए ।

उद्योग सचिवले मापदण्ड बनाएर ल्याउन भनेकाले त्यसको तयारीमा लागेको उनको भनाइ छ । नेपालमा १ हजार ५ सय इँटा उद्योग दर्ता भए पनि १ हजार २५० सञ्चालनमा रहेको जानकारी उनले दिए । यी उद्योगमा ३ लाख मजदुरले काम गर्छन्, तीमध्ये २ लाख मजदूर भारतीय नै हुन् ।

प्रदेश १ का इँटा उद्योगमा भारतको पश्चिमबंगाल कुचबिहारबाट मजदूर ल्याउने गरिएको छ । यहाँका उद्योगमा २२ हजार भारतीय मजदूरले काम गरिरहेको इँटा व्यवसायी संघको तथ्यांक छ । संघले उद्योगमन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए पनि भारतबाट सहज रुपमा मजदूर आउने निश्चित छैन ।

अधिकांश दक्ष कामदार सीमा बन्द भएका कारण भारतबाट आउन नसकेपछि उद्योग सञ्चालनमा समस्या देखिएको कोसी इँटा व्यवसायी संघका अध्यक्ष महेद्रप्रसाद साहले बताए । इँट्टा उत्पादन रोकिँदा विकास निर्माण प्रभावित हुने निर्माण व्यवसायी संघ मोरङका कोषाध्यक्ष दाताराम पौडेलको  दाबी छ ।प्रदेश १ का ८५ इँटा उद्योगले वार्षिक न्यूनतम ३४ करोड इँटा उत्पादन गर्दै आएको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)