ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इटहरीका अर्बौं लागतका योजना अलपत्र

२०७७ असोज, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । कोरोनाको महामारी सुरु भएपछि घोषणा गरिएको बन्दाबन्दीका कारण इटहरीका अर्बौं रुपैयाँ बराबरका ठूला आयोजना अलपत्र परेका छन् । इटहरीमा निर्माण गर्ने भनिएको डेटिङ स्पट, आकाशे पुल, रात्रिकालीन बजारलगायत योजना अलपत्र परेका हुन् ।

इटहरी उपमहानगरले अघिल्लो नगरसभाबाट युवा युवतीका लागि डेटिङ स्पट,  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आकाशे पुल निर्माण, इटहरीलाई २४ सै घन्टा खुला राख्न रात्रिकालीन बजार, पार्किङ समस्या हटाउन बनाउन लागिएको स्मार्ट पार्किङलगायत अर्बौं लागतका योजना निर्माण कोरोनाका कारण बन्द छन् ।

इटहरीमा युवायुवतीका लागि डेटिङ स्पट र आकाशे पुल निर्माणको योजना प्रदेश सांसद सर्वध्वज साँवामार्फत आएको थियो । ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै पर्यटकका लागि सेल्फी खिच्न मिल्ने गरी मुख्य चोकमा आकाशे पुल निर्माणको योजना उनले प्रदेश सरकारलाई पेस गरेका थिए ।

प्रदेश सरकारले अनुमति दिएपछि पुलको डीपीआरको कामसमेत सम्पन्न भइसकेको थियो । डीपीआर सम्पन्न भइसकेर निर्माण प्रक्रिया अघि बढाउने क्रममा संलग्न इन्जिनियरले नक्सा गलत बनाएपछि रोकिएको थियो । नक्सा पुनः सच्याई सुरु गर्नै लाग्दा कोरोना संक्रमणले सबै काम बन्द भएको साँवा बताउँछन् । इटहरीलाई २४ सै घन्टा खुला राखी नमुना सहरको रूपमा स्थापित गर्न पहिलो नगरकार्यपालिका तथा नगरसभाले रात्रिकालीन बजारको योजना अघि सारेको थियो ।

रात्रिकालीन बजारको योजनाको ५० प्रतिशत काम पूरा भएको छ  । बजारका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण, रंगरोगनजस्ता काम सकिएका छन् । बजारका लागि नगरसभाबाट ४० लाख रकम विनियोजन गरेको थियो ।

रात्रिकालीन बजार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद भट्टराईले आइतबारेदेखि टेलिकमको बाटोसम्म सोलार जडान, मुख्य स्थानमा सिसिक्यामेरा जडानजस्ता महत्वपूर्ण काम सकिए पनि कोरोनाकै कारण पूरा हुन नसकेको बताए ।

उनले भने, ‘स्थिति सामान्य बन्दै गएपछि पुनः एक पटक सबैसँग छलफल गरी निर्माण प्रक्रिया अघि बढाइनेछ ।’

अवसर र बजेट पाएर पनि गुमाएको अर्को योजना हो– स्मार्ट पार्किङ । बढ्दो सहरीकरणसँगै सवारी साधनको चापले पार्किङ समस्यालाई समाधान गर्न स्मार्ट पार्किङको योजना अघि सारिएको थियो ।

योजनालाई संघीय सरकारले समेत पारित गर्दै समपूरक योजनाअन्तर्गत ५ करोड २० लाख रकम विनियोजन गरेको थियो । बजेटको उपयोग गर्न नसक्दा उपमहानगरले पाएको रकम फ्रिज हुन पुगेको छ ।

इटहरी–४ ट्यांग्राखोला उत्तरपूर्व २  कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ बनाउने योजनालाई यही वर्षभित्र निर्माण सम्पन्न भइसक्ने भनिएको थियो । तर, रकम फ्रिज भएकाले निर्माण रोकिएको छ ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले कोरोनाका कारण योजना अघि बढाउन नसकिएको बताउँछिन् । उनले भनिन्, ‘योजनाहरू पूरा भएरै छाड्छन् । संघीय सरकारसँग बजेटबारे छलफल भइसकेको छ । उपमहानगरले पनि पर्याप्त बजेट छुट्याइसकेकाले योजना फेल भएको भन्न मिल्दैन ।’

कोरोना कहर साम्य बन्दै गएपछि योजनाअनुसार काम अघि बढ्ने उपमेयर गौतमको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)